विराटनगर । झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर दिपेश कार्कीले जानकारी दिए । आइतबार पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए ।
दमक–५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल गत मंसिर ६ गते बिहान पूर्व–पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्पनजिकै सडक किनारमा लडिरहेको अचेत अवस्थामा फेला परेका थिए । उद्धार गरेर उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।
तर, खरेललाई सवारीसाधनले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो । त्यसपछि प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधनको खोजी गरिरहेको थियो ।
तामाङलाई को १ ख ४१४२ नम्बरको मिनी ट्रकसहित पक्राउ गरिएको इन्स्पेक्टर कार्कीले बताए । उनका अनुसार तामाङले हाँकेको उक्त ट्रकको ठक्करबाट वृद्धको ज्यान गएको यकिन भएको छ ।

तपाईको प्रतिक्रिया