राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् ।

शुक्रवार संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् ।

उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर सांसदले पनि सोही अनुसार निलम्बन गर्ने प्रक्रिया उचित हुँदैन । यसको प्रक्रिया संसद्को नियमावलीमा स्पष्ट राखिएको छ । अदालतले थुना पठाउने निर्णय भएको खण्डमा मात्रै निलम्बन गर्ने नियमावलीमा व्यवस्था छ तर पनि उहाँलाई जो निलम्बन गर्ने निर्णय फिर्ता लिन उहाँले निवेदन दिनु भएको छ ।’

सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद् सचिवालयले निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया