विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलस्थित रेल–वे लाइनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
कटहरी–३ का अन्दाजी ३६ वर्षीय फिरोज मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । बिजुलीको पोलमा चढेका उनी करेन्ट लागेर भुइँमा झरेका थिए । उनी आज (बुधबार) बिहान १० बजेतिर घाइते अवस्थामा फेला परेका थिए ।
करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा दिउँसो २ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।मियाँ बिजुलीको पोलमा किन चढेका थिए भनेर खुल्न बाँकी छ । यद्यपि, काटेर संकलन गरिएको बिजुलीका तारहरु घटनास्थलबाट प्रहरीले फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।























