मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ ।
गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ताला फुटाइदिएका हुन् ।
मेयर पौडेलले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘माघ ११ गतेदेखि लागेको ताला नखुल्दा कार्यालयको दैनिक कामकाजमा समेत बाधा पुग्न गएको, त्यसैगरी वडा कार्यालयहरुको सेवा समेत प्रभावित भइ सेवाग्राहीहरुलाई सेवा लिन कठिनाइ भएकाले स्थानीय सरकार प्रमूखको नाताले नगरवासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाइएको ताला खोली कार्यालयबाट प्रदान गरिने सेवालाई नियमित सुचारु गर्न आवश्यक भएकाले उक्त ताला फोरेर काम सुचारु गर्न गराउन बाध्य भएको छु ।’
तर, यस कार्यको एमालेका जनप्रतिनिधि मानेका छैनन् बरु, एमाले जनप्रतिनिधिहरु मेयरको ‘दादागिरी’भन्दै मेयरकै कार्यकक्षमा नै ताला लगाउने चेतावनी दिइरहेका छन् । उपमहानगरपालिकाकी उपमेयर चौधरीले भनिन्, ‘मेयरजीको दादागिरीमा शैलीमा जुन ताला तोडिएको छ । समाधान दिन सक्नुभएन भने हामी मेयरज्यूको कार्यकक्षमा ताला लगाउँछौँ ।’
इटहरीमा मेयर कांग्रेसका हुन् भने उपमेयरसहितका बहुमत कार्यपालिका एमालेको रहेको छ । ‘सहमति होला जस्तो छैन । ताला लाग्ने जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।























