बेलबारी। देशभर डेङ्गु संक्रमित बढ्दै गएको छ । देशका सबै जिल्लामा ७ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ ।
इडिसिडीको तथ्याक अनुसार ७ हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ । यस समयमा ६ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।
बागमती प्रदेशमा १ हजार ७६३ जनामा डेङ्गु पुष्टि भएको छ । गण्डकी प्रदेशमा १ हजार ७७५, लुम्बिनीमा १ हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५ सय र मधेसमा १४७ जनामा डेङ्गु पुष्टि भएको इडिसिडी जनाएको छ ।डोल्पा र मनाङमा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन ।
चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् ।
त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षण देखिन्छ । डेङ्गु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधि सेवन गर्न डा. पुनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया