सुनसरी / निर्माण कम्पनीले काम नगरेपछि हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो । सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल्लेख छ ।
सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गर्नुपर्नेमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ ।
ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ ।ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख १ करोड ७१ लाख रुपैयाँ जफत हुनेछ ।

तपाईको प्रतिक्रिया