आज दिउँसो मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर४ मा रहेको मुसहर बस्तीमा आगलागी हुँदा बस्तीमा रहेका धेरै घर पूर्णरुपमा जलेका छन्।

गोकुवा चोक भन्दा पूर्वतर्फ रहेको सो मुसहर बस्तीका १५ वटाभन्दा बढी घर पूर्णरुपमा जलेको अनुमान गरिएको हो ।

बस्तीमा दिउँसो करिब २ बजेतिर अचानक आगलागी सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो तीव्र गतिमा फैलिँदा बस्तीका सबैजसो घरहरू पूर्ण रूपमा जलेर खरानी भएका हुन् । १० भन्दा बढी घर जलेर खरानी भएको प्रारम्भिक अनुमान गरिए पनि क्षतिको यकिन विवरण आइसकेको छैन । बस्तीका घरहरू प्रायः फुसको छाना र टाटीबेराले बनेका भएकाले आगोले छिट्टै विकराल रूप लिएको स्थानीयको भनाइ छ ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्कीको नेतृत्वमा टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । त्यसैगरी विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रिय प्रयासका बाबजुद करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आए पनि बस्तीका अधिकांश घर पूर्ण रूपमा जलेर नष्ट भइसकेका छन् । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

घटनापछि बस्तीका पीडित परिवारहरू बिचल्लीमा परेका छन् । भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवारहरूको आश्रय नै नष्ट भएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । घरसँगै लत्ताकपडा, अन्नपात र दैनिक प्रयोगका सामग्री जलेपछि पीडितहरू थप पिडित बन्न पुगेको छन। आगलागीले बस्तीभरि रुवाबासी चलाएको छ भने भरेदेखि नै के खाने र लाउने चिन्तामा परेका मुसहर बस्तीका पिडितहरुलाई सहयोगको आवश्यकता रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया