विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेका प्रहरीका विभिन्न युनितका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले एकैपटक ठूलो संख्यामा जुनियर प्रहरी अधिकृतहरु प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायव निरीक्षक (सई)हरुको जिम्मेवारी हेरफेर गरिएको जानकारी दिएका हुन्।
बरिष्ठ सई तथा सईहरुको जिम्मेवारी हेरफेर गरिएका कारण प्रहरीका विभिन्न युनिटका इन्चार्जहरु परिवर्तन भएका छन् । शुक्रबार गरिएको आन्तरिक सरुवामा पर्नेमा ४ जना वरिष्ठ सई र २३ जना सईहरु रहेछन् ।
एकैपटक २७ जनाको जिम्मेवारी हेरफेर गरिँदा १५ वटा युनिटका इन्चार्ज परिवर्तन भएका छन् । इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयदेखि प्रहरी चौकीसम्मका युनिटहरुका इञ्चार्जहरु परिवर्तन भएका छन् । एक ठाउँमा ६ महिनाभन्दा बढी बसेका जुनियर प्रहरी अधिकृतहरुको जिम्मेवारी हेरफेर गरिएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत वरिष्ठ सईहरु चन्द्रशेखर शिवाकोटीलाई इलाका प्रहरी कार्यालय (इप्रका) नेमुवा र भीमबहादुर खड्कालाई इप्रका रानी सीमाको इन्चार्ज बनाएर पठाइएको छ । इप्रका केराबारीका इन्चार्ज, वरिष्ठ सई मनोज अधिकारीको जिप्रका र प्रहरी चौकी कर्सियाका प्रमुख वरिष्ठ सई नरेशकुमार आचार्यको इप्रका सिजुवामा सरुवा भएको छ ।
त्यसैगरी सई सुवास अधिकारीलाई जिप्रकाबाट प्रहरी चौकी कर्सिया, उज्ज्वल शाक्यलाई इप्रका पोखरियाबाट जिप्रका, सूर्यबहादुर बस्नेतलाई जिप्रकाबाट इप्रका पोखरिया, अशोक कार्कीलाई इप्रका नेमुवाबाट जिप्रका, सन्तोषकुमार निरौलालाई इप्रका रानी सीमाबाट विराटनगरको बाल सुधारगृह र रामबहादुर प्रधानलाई जिप्रकाबाट इप्रका सखरदिना सरुवा गरिएको छ ।
सईहरु सानुराम कार्कीको इप्रका सखरदिनाबाट वडा प्रहरी कार्यालय विराटनगर, भुवन श्रेष्ठको वप्रका विराटनगरबाट इलाका प्रहरी कार्यालय केराबारी, अनिल भुजेलको जिप्रकाबाट इप्रका डोरिया, विष्णुबहादुर राउतको इप्रका डोरियाबाट इप्रका लेटाङ, सदानन्दकुमार यादवको इप्रका लेटाङबाट प्रचौ रमाइलो र नीलमणि पोखरेलको प्रचौ रमाइलोबाट इप्रका रानी सरुवा भएको छ ।अन्य सईहरु नित्यानन्द मेहतालाई जिप्रकाबाट प्रचौ कटहरी, भीमकुमार धमलालाई प्रचौ कटहरीबाट जिप्रका, तुलामणि आचार्यलाई जिप्रकाबाट वप्रका हाटखोला, मोहनविक्रम कार्कीलाई वप्रका हाटखोलाबाट जिप्रका, चन्द्रकुवेर अधिकारीलाई बाल सुधारगृहबाट इप्रका मधुमल्ला र भीमबहादुर भुजेललाई इप्रका मधुमल्लाबाट जिप्रका सरुवा गरिएको छ ।
यसैबीच, सईहरु विजय श्रेष्ठको जिप्रकाबाट प्रचौ गछिया, गणेश दाहालको प्रचौ गछियाबाट जिप्रका, महिन्द्रबहादुर कार्कीको इप्रका लेटाङबाट जिप्रका, राजकुमार थापाको जिप्रकाबाट इप्रका दोहमना र भरतबहादुर भण्डारीको इप्रका दोहमनाबाट जिप्रका मोरङमा सरुवा गरिएको छ ।























