विराटनगर । कोशी प्रदेशमा समस्याग्रस्त घोषित सहकारी संस्थाको बचतकर्तालाई राहत दिने बहुप्रतिक्षित प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट साना बचतकर्ताको रकम फिर्ता गर्न थालेको हो । यसले सहकारी संकट समाधानतर्फ ठोस कदम अघि बढेको पुष्टि हुन्छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका २८७ जना बचतकर्तालाई कुल २८ लाख ५७ हजार ७८१ रुपैयाँ फिर्ता गर्ने मापदण्ड कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो ।
समितिका अध्यक्ष भरतबहादुर थापाले साना बचतकर्तालाई प्राथमिकतामा राखेर प्रक्रिया सुरु गरिएको स्पष्ट पार्दै अब क्रमशः ठूलो रकम भएका बचतकर्तातर्फ पनि अघि बढ्ने बताए । उनका अनुसार सहकारीको नाममा खोलिएको बैंक खातामा ऋणिबाट चैत मसान्तसम्ममा १ करोड ३८ लाख ४४ हजार रुपैयाँभन्दा बढी रकम फिर्ता गराउन समिति सफल भएको छ ।
बचत–ऋण मिलान प्रक्रियामार्फत थप १ करोड ९० लाख रुपैयाँ बराबरको रकम फिर्ता भइसकेको थापाले बताए । यसले सहकारीमा रोकिएको रकम पुनः चलायमान बन्न थालेको देखाएको उनले उल्लेख गरे ।























