नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा शुक्रबार आयोजित कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तर कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विराटनगरस्थित मेरिल्याण्ड कलेजले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मेरिल्याण्ड कलेजको टोलीले प्रथम स्थान सुरक्षित गरी नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको हो। कक्षा १२ मा अध्ययनरत हर्ष सिङ, सम्भभ भट्टराई र प्रतीक ठाकुरले प्रतिस्पर्धामा विजेता हासिल गरेका हुन् ।

यसअघि सोही संस्थाद्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले प्रथम स्थान हासिल गरेका थिए। लगातार दुई फरक विधामा प्राप्त सफलताले कलेजको शैक्षिक उत्कृष्टता तथा विद्यार्थीहरूको प्रतिभा र प्रतिस्पर्धात्मक क्षमतालाई थप उजागर गरेको छ।

विद्यार्थीहरूको उल्लेखनीय उपलब्धिप्रति खुसी व्यक्त गर्दै कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले भने, “प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्राप्त यो सफलता विद्यार्थीहरूको निरन्तर मेहनत, अध्ययनप्रतिको लगाव, अनुशासन र आत्मविश्वासको प्रतिफल हो। विभिन्न विधाका प्रदेशस्तरीय प्रतियोगिताहरूमा मेरिल्याण्डका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै आउनु सम्पूर्ण कलेज परिवारका लागि गर्वको विषय बनेको छ। आगामी दिनमा पनि यस्ता सफलताले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं।”

उनले प्रतियोगितामा सहभागी भई कलेजको प्रतिष्ठा उच्च बनाउने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।

गुणस्तरीय शिक्षासँगै अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको मेरिल्याण्ड कलेजका विद्यार्थीहरूले विभिन्न क्षेत्रका प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया