विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै पूर्वी नेपालको अग्रणी शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचानलाई थप बलियो बनाएको छ। यस वर्ष कलेजका ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ।

कलेजका प्राचार्य लक्ष्मण ढकालका अनुसार तीन जना विद्यार्थीले ४.० नजिकको ३.९६ जीपीए प्राप्त गरेका छन्। त्यस्तै, १० जना विद्यार्थीले ३.९० भन्दा माथि जीपीए ल्याएर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका छन्।

नतिजाअनुसार १४० जना विद्यार्थीले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् भने २३२ जनाले ‘ए’ ग्रेड हासिल गरेका छन्। बाँकी विद्यार्थीले ‘बी’ ग्रेडसहित परीक्षा उत्तीर्ण गरेका छन्। समग्र नतिजाले कलेजको शैक्षिक गुणस्तर, प्रभावकारी अध्यापन प्रणाली तथा विद्यार्थीको मेहनतलाई पुष्टि गरेको प्राचार्य ढकालले बताए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्षको नतिजा अझ उत्साहजनक रहेको छ। अघिल्लो वर्ष दुई जना विद्यार्थीले मात्र ३.९६ जीपीए हासिल गरेका थिए भने यस वर्ष उक्त संख्या बढेर तीन पुगेको छ। उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य रूपमा बढेको कलेजले जनाएको छ।

व्यवस्थापन संकायमा सात पटकसम्म राष्ट्रिय स्तरको बोर्ड प्रथम विद्यार्थी उत्पादन गरिसकेको मेरिल्याण्ड कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजाको परम्परालाई निरन्तरता दिएको जनाएको छ। पछिल्ला वर्षहरूमा व्यवस्थापन शिक्षामा स्थापित पहिचान बनाएको कलेजले विज्ञान संकायतर्फ पनि प्रतिस्पर्धी उपस्थिति देखाउन थालेको छ।

२०५९ सालमा स्थापना भएको मेरिल्याण्ड कलेजले गत वर्षदेखि विज्ञान संकाय सञ्चालनमा ल्याएको हो। आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक, प्रविधिमैत्री शिक्षण प्रणाली तथा नियमित शैक्षिक मूल्याङ्कनका कारण विज्ञान संकायतर्फ पनि विद्यार्थीको आकर्षण बढ्दै गएको कलेज प्रशासनले जनाएको छ।

प्राचार्य ढकालले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण कलेज परिवारप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया