विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो ।
त्यस क्रममा उनी कोठाभित्र पसेर बसेका थिए । उनले अन्यथा निर्णय लिन सक्ने संभावन देखिएपछि प्रहरीलाई बोलाइएको थियो । सिआरभी भट्टाचौकबाट प्रहरीको टोलि त्यहाँ पुगेर उनलाई सम्झाउने प्रयास हुँदाहँुदै घटना भएको थियो ।खबर पाएपछि त्यहाँ पुगेका सिआरभी भट्टाचौकका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधारगृहका चेयरमेन सन्तोष सापकोटामाथि उनले धारिलो हतियार प्रहार गरेका हुन् । उनको प्रहारबाट प्रहरी सहायक निरीक्षक रेग्मीको टाउकोमा गहिरो चोट लागेको छ । यसैगरी जवान र चेयरमेन सापकोटाको समेत टाउकोमा चोट लागेको छ । उनीहरुको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो करिब ३ः१५ बजे उनलाई सुधार गृह पठाउन खोजिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट कमाण्डो टोलि परिचालन भएको थियो । त्यो टोलिले कार्कीलाई कोठाबाट बाहिर निकालेर नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया