गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।
पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गुरुङको मंगलबार बिहान एयरपोर्ट अगाडि रहेको लर्ड होटलमा ब्रेकफास्टका क्रममा गृहमन्त्रीलाई परोसिएको अम्लेटमा दुई वटा माछाका काँडा फेला परेको बताइएको छ। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।
चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर पौडेलका अनुसार भान्सामा खाना बनाउने दुई कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। घटनाको वास्तविकता बुझ्न आवश्यक अनुसन्धान भइरहेको उनले बताए।
अम्लेटमा काँडा भेटिएको घटनापछि प्रमुख जिल्ला अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले लर्ड होटलको भान्सा (किचन) को अनुगमन गरेका छन्।
प्रहरीका अनुसार चितवनमा जारी रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले होटल तथा रेस्टुरेन्टहरूको अनुगमनसमेत तीव्र बनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यद्यपि प्रारम्भिक रूपमा यो लापरबाही, प्राविधिक त्रुटि वा अन्य कुनै कारणले भएको हो भन्नेबारे आधिकारिक निष्कर्ष आइसकेको छैन।























