विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचना हटाउने अभियान सोमबार बिहानैदेखि सुरु गरिएको छ। अस्पताल प्रशासनले दिएको सातदिने समयसीमा सकिएसँगै जिल्ला सुरक्षा समितिको समन्वयमा विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरिएको हो।

बिहान करिब ५ बजेदेखि सुरु गरिएको अभियानमा सम्भावित अवरोध रोक्न नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कविता कटवाललगायतका सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो।

प्रहरीका अनुसार कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा विभिन्न संघसंस्थाले अतिक्रमण गरी व्यावसायिक प्रयोजनका लागि निर्माण गरेका सटरहरू भत्काउन डोजर परिचालन गरिएको हो। प्रहरी उपरीक्षक कटवालले अस्पतालको जग्गा सार्वजनिक सम्पत्ति भएकाले त्यसको संरक्षण तथा अस्पतालको उपयोगका लागि अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको बताए।

अस्पताल प्रशासनले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना सात दिनभित्र स्वेच्छाले हटाउन आग्रह गरेको थियो। त्यसपछि अधिकांश व्यवसायीले शनिबारदेखि नै सटर खाली गर्न थालेका थिए। तोकिएको म्याद सोमबार सकिएपछि बाँकी संरचना हटाउन डोजर प्रयोग गरिएको हो।

अस्पताल परिसरको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले विभिन्न संरचना निर्माण गरेका थिए। ती संरचनाअन्तर्गत ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सक तथा अन्य व्यवसायीलाई भाडामा दिइएको थियो। ती सटरबाट प्राप्त हुने आम्दानी सम्बन्धित संस्थाले लिँदै आएका थिए भने अस्पतालले आफ्नो स्वामित्वको जग्गाको उपयोग गर्न पाएको थिएन।

अस्पताल प्रशासनका अनुसार दीर्घकालदेखि अतिक्रमणमा परेको जग्गा फिर्ता लिएर अस्पतालको सेवा विस्तार तथा गुरुयोजना कार्यान्वयन गर्ने उद्देश्यले संरचना हटाउने प्रक्रिया अघि बढाइएको हो। यसअघि पनि अस्पतालले पटक–पटक संरचना हटाउन आग्रह गर्दै आएको थियो।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत निरीक्षण गर्दै अस्पतालको जग्गा खाली गराएर संस्थागत प्रयोजनमा उपयोग गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गरी सात दिनभित्र संरचना हटाउन अल्टिमेटम दिएको थियो।

अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर तथा नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा लामो समयदेखि प्रयोग गर्दै आएका छन्। त्यस्तै गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि अस्पताल परिसरको सडक मोहडामा सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चन्द्रभाल झाले अतिक्रमित जग्गा चरणबद्ध रूपमा खाली गराएर अस्पतालकै सेवा विस्तार, पूर्वाधार विकास र अन्य संस्थागत प्रयोजनमा उपयोग गरिने बताए। उनका अनुसार हाल व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका संरचना मात्रै हटाइएको हो। नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक तथा गणेश मन्दिरसँग सम्बन्धित मुख्य संरचनामा भने तत्काल डोजर नचलाइएको अस्पतालले जनाएको छ।

पञ्चायतकालदेखि नै विभिन्न संघसंस्थाले अस्पतालको जग्गामा संरचना निर्माण गरी प्रयोग गर्दै आएको भन्दै अस्पताल प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण र अस्पतालको दीर्घकालीन विकासका लागि अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ।

तपाईको प्रतिक्रिया