विवाहका लागि घरमा सबै तयारी पूरा भएको थियो । विवाह घरमा आफन्त आउनेक्रम जारी थियो । तर बिहेको अघिल्लो दिन बेहुला घरबाट बजार जाने भन्दै निस्किए ।

जोगवनी पुगेर लागूऔषध सेवन गरेका बेहुला घर पुगेनन् । परिवारले सोधीखोजी गर्दा उनी इलाका प्रहरी कार्यालय रानीमा प्रहरी नियन्त्रणमा रहेको सूचना पाए । जोगवनीबाट घरका लागि लागूऔषध लिएर फर्कँदै गर्दा उनी बाटोबाटै पक्राउ परे ।

घटना शनिबारको हो । विवाहको अघिल्लो दिन लागूऔषधसहित बेहुला पक्राउ परेपछि प्रहरी निरगानीमा विवाह भएको छ । धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय धमला थरका युवक विवाहको अघिल्लो दिन पक्राउ परेपछि प्रहरीले निगरानीमा आइतबार रातिको विवाह भएको हो ।

दलित समुदायका युवकले धनकुटा महालक्ष्मी नगरपालिकाको चनुवा भन्ने स्थानकी २० वर्षीया रसाइली थरकी युवतीसँग विवाह भएको हो । बेहुला नै पक्राउ परेपछि आइतबार धनकुटा जानुपर्ने जन्ती गाडीमा विराटनगर आएको थियो । विवाह नै रोकिने भएपछि मोरङ प्रहरीले आमाको जमानतमा दुई जना प्रहरीलाई बेहुलाको साथमा पठाएर विवाह गराएको थियो ।

आइतबार रातिको विवाह गरेर युवकले सोमबार बिहान बेहुलीलाई घरमा भित्र्याएका थिए । सोमबार घरमा पनि विवाहको कार्यक्रम थियो । तर, बेहुला बेहुलीलाई आफन्तले टीकाटालो लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले युवकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएका हुन् ।

शनिबार पक्राउ परेका युवकको विवाहपछि प्रहरीले मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । युवकको साथबाट प्रहरीले सात एम्पुल लुपिजेसिक, सात–सात पिस जाइजोपाम र एभिल फेला पारेको थियो ।

धरानको रत्नरोडमा सुन पसलसमेत रहेको धमला परिवारको जेठा छोरा हुन् । उनका कान्छा भाइ, एक जना दिदी र आमा छन् । एक वर्षअघि बुबाको मृत्यु भएका कारण आफूले लागूऔषध सेवन गरेको युवकले बताएका छन् । पहिलेदेखि नै प्रेममा भएका कारण आइतबार विवाह गरेको धमलाले बताएका छन् ।

तपाईको प्रतिक्रिया