सामान्य परिचयबाट सुरु भएको कुराकानी प्रेममा परिणत भयो । प्रदेश ५ स्थित बाँकेका केटा फेसबुके प्रेमिकालाई भेट्न पोखरा पुगे । दुवैको भेटघाट भयो । होटलमा बसे । केटाले ‘म तिमीलाई लिन आएको’ भन्न थाल्यो । फेसबुकमा त मायाप्रे मका कुरा भएकै थियो । त्यति टाढाबाट केटा आएपछि केटीमा अझ विश्वास पलायो । घरमा दिदीलाई मात्रै भनेर केटी बाँकेतिर हिँडिन् ।

फेसबुकमा चिनजान भएको केटा कस्तो हो, के हो ? केटीले सोच्दै सोचिनन् । दुवै बाँके आए । केटाले प्रेमिकालाई घरमा लगे । संयोग भनौ या केटाले मिलाएका थिए, त्यसबेला उनकी श्रीमती माइती गएकी रहिछन् । चार दिनमा घरमा राखेपछि उसले काम गर्ने र उतै बस्ने भनेर भारत लग्यो । फेसबुके मायामा अन्जान व्यक्ति, ठाउँमा आएकी केटी विश्वासमा पर्दै गइन् । दुवैजना भारत गए ।

भारतमा पुगेपछि केही समय राम्ररी नै दिनचार्य बित्यो । एक दिन केटाले ‘हामीले धेरै पैसा कमाउनु पर्छ । तिमीले मैले भने अनुसार काम गर’ भनेर कोठामै वेश्यालय चलाउने योजना सुनाए । उसले भन्यो, ‘म ग्राहक खोजेर ल्याउँछु । उनीहरुसँग पाँच सय लिएर म भित्र पठाउँछु । तिमीले उसले भने अनुसार गर्नु । भित्र पनि थप पैसा माग्नु ।’

केटीले सुरुमा त ‘मजाक’ गरेको होला भन्ने सोचिन् । पटक-पटक यस्तो भनेपछि उसले एक दिन केटालाई ‘तिम्री बहिनी र आमालाई पनि ल्याउनु धेरै कमाई हुन्छ’ भनि दिइछन् । त्यसपछि केटाले पिट्न पनि सुरु गरे । त्यसको तीन दिनपछि राति ११ बजे दुईजना अपरिचित युवा कोठामा आए ।

श्रीमान भन्नेले नै अपरिचितलाई ल्याएर श्रीमती सुतेको कोठामा हुले । ती दुईजनाले जबरजस्ती गरेर गए । त्यसपछि उसले दैनिक ग्राहक खोजेर ल्याउने र श्रीमती भएको कोठामा पठाउने गर्न थाले । दिउँसोभरी श्रीमतीलाई थुनेर राख्ने र आफू ग्राहक खोज्न जाने अनि रातिमा ग्राहक लिएर आउने उसको दिनचर्या भयो ।

२८ औँ दिन छिमेकीले त्यो कुरा थाहा पाए । त्यसपछि युवक ग्राहक खोज्न गएको मौकामा छिमेकीले ताला फोरेर केटीलाई बाहिर निकाले । अलिअलि पैसा दिएर त्यहाँबाट भगाइदिए । केटीले अहिले आएर मुद्दा प्रक्रिया अघि बढाएकी छन् ।

अर्को, बाँकेकै २० वर्षका केटा । सुर्खेतकी १७ वर्षकी किशोरी । फेसबुकमा जोडिए । गफगाफ हुन थाले । ५ महिनाजति पछि त एकअर्का बिना बाँच्नै नसक्ने अवस्थामा पुगे । केटाले केटीलाई घरमै ल्याए । घरमा श्रीमती र एक छोरा छदै थिए । घरपरिवार, गाउँले सबै मिलेर सात दिनपछि किशोरीलाई फिर्ता गरिदिए ।

घरपरिवारले फिर्ता गरिदिएकी किशोरीसँग केटाको फोन र फेसबुकबाट कुरा हुँदो रहेछ । केही दिनअघि यी दुईजनालाई नेपालगञ्ज नाका पार गरेर भारत जादा रुपैडिहामा एसएसबीले नियन्त्रणमा लियो । ‘प्रेम गरेर भागेर जान थालेको’ भनेपछि एसएसबीले शक्ति समूह नेपालगञ्जका प्रतिनिधिलाई बोलायो । शक्ति समूहकी इन्चार्ज निर्मला पौडेल त्यहाँ पुगिन् ।

केटाको मोबाइल चेक गर्दा अहिले भगाएको केटीको नम्बर ‘वाइफ’ भनेर सेभ थियो । अर्को एउटा नम्बर ‘बुढी’ भनेर राखिएको थियो । बुढी भनेको नम्बरमा फोन लगाउदा उसको घरमा रहेकी श्रीमतीले फोन उठाइन् ।

उनका अनुसार, दुई दिनदेखि काठमाडौँ जान्छु भनेर केटा हिडेको रहेछ । अढाई सय भारु बोकेर केटा हिँडेको थियो । केटीसँग पैसा थिएन । सीमला गएर काम गर्ने दुवैले बताए । दुवैलाई राखेर अभिभावकलाई बोलाउने तयारी भएको छ ।

 

तपाईको प्रतिक्रिया