विराटनगर /  विराटनगरको सप्तकोशी नर्सिङ होम एवं अस्पताल प्रालिमा चिकित्सकले शल्यक्रिया गरेर प्रसूति गराइएकी एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।

चिकित्सकले सावधानीपूर्वक रुपमा शल्यक्रिया नगर्दा अत्यधिक रक्तश्राव भएर विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी कटुवालको मृत्यु भएको गुनासो आफन्तको छ । प्रसूतिका लागि गत शुक्रबार साँझ सप्तकोशीमा भर्ना गरिएकी उनको भोलिपल्ट बिहान डा. योगेन्द्र मिश्र नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियामार्फत दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी मेनुकाको थप उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारराति ९ बजे मृत्यु भएको हो । पहिलो सन्तान चार वर्षका छोरा छन् ।

शल्यक्रियापछि अत्यधिक रक्तश्राव हुनुका साथै पिसाव बन्द भएको देवर उमेश कटुवालले बताए । त्यस लगत्तै सुत्केरी महिलाले सहनै नसक्ने गरी पेट पोलेको बताउन थालेपछि चिकित्सकको खोजी गर्दा पनि नभेटेको र साँझ चिकित्सक आइपुग्दा अवस्था अन्तिम बनिसकेको उनको भनाइ छ । ड्युटीमा खटिएका स्टाफ नर्सहरुले पनि सुत्केरीको अवस्था गम्भीर बन्दासम्म चिकित्सकलाई बोलाउन नमानेको उमेशले बताए ।

अत्यधिक रक्तश्राव, पिसाव बन्द तथा पेट पोलेर सहनै नसक्ने अवस्था भएपछि र रक्तचाप समेत कम हुँदै गएपछि डा. मिश्रले नै सुत्केरी मेनुकालाई गत शनिबार राति धरान रेफर गरेका थिए ।

उमेशका अनुसार धरान पु¥याएर थप उपचार थालिए पनि त्यतिबेलै चिकित्सकले बिरामी बचाउन सक्ने अवस्था नभएको भन्दै आस कम गर्न भनेका थिए । ‘तर पनि बचाउने प्रयास गर्छौ’ भन्दै भेन्टिलेटरमा राखेर चिकित्सकले उपचार थालेको उनको भनाइ छ ।

शल्यक्रियाका क्रममा नसा नै काटिएकाले रक्तश्राव नरोकिएको जानकारी धरानमा उपचारमा संलग्न चिकित्सकले दिएको मेनुकाका श्रीमान महेश कटुवालले बताए ।

दोस्रो शल्यक्रियाबाट पनि पिसाव नखुलेको र रक्तचाप कमनै रहेको महेशले बताए । लापरबाहीपूर्ण तरिकाले शल्यक्रिया गरेर बच्चा निकालिएका कारण श्रीमती गुमाउनु परेको उनको गुनासो छ । सुत्केरीको रक्तश्राव नरोकिएपछि धरानमा मात्रै १५ पिन्ट रगत चढाइएको थियो । एकै दिन आठ पिन्टसम्म रगत चढाउनु परेको महेशले बताए ।

उनले अवस्था अन्तिम भएपछि र आफ्नो लापरबाही हैन भन्ने देखाउन मात्रै चिकित्सकले अर्को अस्पतालमा रेफर गरिदिएको बताए । थप उपचारका लागि धरान पु¥याउँदा बिरामी ल्याउन दुई घण्टा जति ढिलो भएको चिकित्सकले बताएको जानकारी महेशले दिए । शल्यक्रियासँगै रेफर गर्ने विषयमा पनि अर्को लापरबाही हुँदा बच्चा जन्माउन अस्पताल पु¥याइएकी श्रीमतीलाई जीवित फर्काउन सकिएन ।’

उनीबाट जन्मिएकी नवजात शिशु भने स्वस्थ्य छिन् । सुत्केरीको मृत्युपछि उत्पन्न विवाद साम्य पार्न भएको वार्तामा छोरीको ७ वर्षसम्म निःशुल्क उपचार गरिदिने र स्नातकसम्मको शिक्षादीक्षाको व्यवस्था अस्पतालले मिलाइदिने सहमति भएको छ । वार्तामै बसेका डा. मिश्रले आफूबाट लापरबाही नभएको जिकिर गर्दै सुत्केरीको निधन भएको घटनाप्रति माफी मागेका छन् ।

 

तपाईको प्रतिक्रिया