काठमाडौँ । ६४ करोड ९६ लाख कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार वरुणले योजनाबद्ध किसिमले राजस्व छली गरी राज्यकोषमा आउनुपर्ने करोडांै रुपैयाँ ठगी गरेको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुणले नक्कली बिल प्रयोग गरी मूल्य अभिवृद्धि तथा आयकर छली गरेकाले त्यसविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागले मुद्दा दायर गरेसँगै वरुणको कालोधन्दा छरपस्ट भएको छ ।

सञ्चालकविरुद्ध १९४ करोड रुपैयाँ जरिमाना र ३ वर्ष कैद माग

विभागले वरुणविरुद्ध ६४ करोड बिगो र त्यसको दोब्बर जरिमानासहित १ अर्ब ९४ करोड रुपैयाँ जरिमाना हुनुपर्ने ठहरसहित सञ्चालकविरुद्ध ३ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ । विभागले राजस्व ठगीका प्रमुख योजनाकारका रूपमा रहेका वरुणका सञ्चालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रवीनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमार माथि तीन वर्ष कैद सजायको मागसमेत गरेको छ ।

विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेजले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कुल ६४ करोड ९६ लाख राजस्व छली गरेको
देखिएको छ ।

उपभोक्ताबाट कर उठाए पनि सरकारलाई कर नतिर्न वरुणले नक्कली बिलको कारोबार गर्नेहरूसँग मिलेमतो गरी कर छली गरेको आरोप विभागको छ । विभागले बिहीबार वरुणविरुद्ध दायर गरेको राजस्व छलीको मुद्दा अहिलेसम्मकै ठूलो हो । विभागले अनुसन्धान गर्दा नक्कली भ्याट बिलमार्फत ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छली गरेको पाइएको थियो ।

वरुण वेभरेजले झुटा कारोबार मनसाय राखी नक्कली बिजक तयार पार्ने व्यक्तिसँग मिलेर वास्तविक रूपमा मालवस्तु नै खरिद नगरी झुटा तथा नक्कली कर बिजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रूपमा दर्ता गरिएका फार्मबाट जारी गरेका बिजक खरिद गरेर राजस्व छलेको विभागको अनुसन्धानको क्रममा खुलेको छ । वरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान सञ्चालकबाट विभागले १ अर्ब ६० करोडको बैंक जमानत लिएको छ ।

राजस्व चुहावट ऐन २०५२ अनुसार कसुर गरेको पुष्टि भएकाले वरुण वेभरेजबाट १ अर्ब ६० करोड रुपैयाँ बैंक जमानत लिई मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । विभागले वरुण वेभरेजका पूर्व तथा वर्तमान सञ्चालकविरुद्ध राजस्व चुहावट गरेको अभियोग लगाएको छ ।

झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजकको प्रयोग गर्ने वरुण वेभरेज (नेपाल) प्रालि (स्थायी लेखा नं. ३०००४५४९५ र यसका पूर्व तथा वर्तमान सञ्चालकहरूले राजस्व चुहावट गर्ने मनसाय राखी झुटा तथा नक्कली कर बिजकको कारोबार गर्ने व्यक्तिहरूसँग मिलेमतो गरी वास्तविक रूपमा मालवस्तु खरिद नै नगरी झुटा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फार्मबाट जारी गरेका झुटा तथा नक्कली कर बिजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम मुद्दा दायर गरिएको हो ।

विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेज प्रालिले आव २०७०/७१ देखि २०७५/७६ सम्ममा झुटा तथा मुअ कर बिजकको कारोबारबाट मुअ करतर्फ २५ करोड ३४ लाख ६ हजार ९ सय ४० रुपैयाँ आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख ९५ हजार ४ सय रुपैयाँ छली गरेको विभागले जनाएको छ । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया