जनकपुर / जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिनेलाई दोषी ठहर गरेको छ । विशेष अदालतले मंगलबार डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । विशेषले उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । ती डाक्टरले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका थिए।

डा सिंह र डा रम्भा गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र निलम्बन गरिएको थियो । घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय समेत गरेको थियो । २०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका२ कि बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन उनीहरुले दिएका थिए। अपराधीलाई जोगाउन उनीहरुले यस्तो प्रतिवेदन दिएको अध्ययनमा पाइएको थियो ।

जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरकफरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले बयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

यस्तो थियो घटना

धनुषाको जनकनन्दनी गाउँपालिकामा आफ्नी काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला छिमेकी २३ वर्षीय किरण खत्वेले बालात्कार गरेका थिए । आमाको मृत्यु भएको र बुबा रोजगारीका लागि भारत गएपछि काकीसँगै बस्दै आएकी बालिकालाई बलात्कारको घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पताल र्पुयाएको थियो । अञ्चल अस्पतालले ११ दिनपछि दिएको उक्त रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय डा रम्भा गोइत र डा भिके सिंहले बालिकालाई स्वास्थ्य परीक्षणमा भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख गरेको रिपोर्ट दिएका थिए ।

तर, पीडित परिवारलाई अञ्चल अस्पतालको उक्त रिपोर्टमाथि चित्त नबुझेपछि गत भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराएको थियो । सिरहा जिल्ला अस्पतालका डा राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’९गाला र ओठ टोकिएको०, ‘भेजाइना कन्जेसन’ ९योनीमा चोट० र ‘हाइमेन रप्चर्ड’९योनिको झिल्ली च्यातिएको० देखाएको रिपोर्ट दिएका छन् ।

बलात्कारको घटनापश्चात भारत भागेका आरोपित खत्वेलाई पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते पक्राउ गरेको थियो। अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकार गरिसकेका छन् । खत्वेको सोही बयानका आधारमा प्रहरीले बालिका बलात्कृत भएको सिरहा अस्पताल र बलात्कृत नभएको जनकपुर अञ्चल अस्पतालको रिपोर्ट पेस गर्दै इलाका प्रहरी कार्यालयले गत ४ असोजमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरेको थियो । प्रहरीसमक्ष खत्वेले बयान दिएको भिडियो क्लिप र अदालतमा समेत बलात्कार गरेको स्वीकार गरेपछि खत्वेलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

तपाईको प्रतिक्रिया