राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कुन राजेन्द्र महतोको नागरिकता खारेज भएको हो खुलाउन माग गरेका छन्।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महतोले सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा विवरण नखुलाएकोमा आपत्ति जनाए।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजेन्द्र महतोलगायतका ८ जनाको नागरिकता रद्द गरिएको बताएका थिए। त्यस क्रममा उनले राजेन्द्र महतोको नाम लिएका थिए। तर उनले विवरण खुलाएका थिएनन्।

महतोले आफ्नो नागरिकता बदर गरिएको समाचार आएकोमा आपत्ति जनाए।

‘नाम ठेगाना केही नहुने अनि व्यापक प्रचार हुने, राजपा अध्यक्षको नागरिकता बदर भनेर समाचार आउने’ महतोले संसदमा भने, ‘यो भ्रमको खेती गर्न खोजेर के गरेको हो सरकारले?’

उनले सरकार असफल भएका बेला राजेन्द्र महतोको राष्ट्रियतामा प्रश्न उठाएर खोकला राष्ट्रवाद प्रस्तुत गरेको बताए। उनले सरकारको नियतमा प्रश्न उठेको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया