झापा / झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए ।

भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित थिए । मुलुकका विभिन्न स्थानमा उपचार गराउँदा समेत विराम सुधार नभएपछि वडाध्यक्ष भट्टराई ३ महिना यता बेड रेस्टमा थिए । बिर्तामोड ७ मा भट्टराईको नेतृत्वमा पाँचै जना जनप्रतिनिधि पूर्व एमालेबाट निर्वाचित भएका थिए । ०२८ सालको झापा विद्रोहका योद्धा समेत रहेका भट्टराई सोही समयदेखि राजनीतिमा आबद्ध थिए ।

किसान परिवारका भट्टराई पूर्व एमालेबाट झापा २ का पूर्व क्षेत्रीय कमिटी सदस्य समेत थिए । भट्टराईको बुधबार बिहान १० बजे कनकाई माई नदीमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम राखिएको छ ।

वडाध्यक्ष भट्टराईको निधन भएकोले बिर्तामोड नगरपालिकाले बुधबार नगरभित्र एक दिन शोक बिदा दिने निर्णय गरेको प्रवक्ता पाण्डेले बताए । भट्टराईको श्रीमती, ४ छोरा र २ छोरी छन् ।

तपाईको प्रतिक्रिया