– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे गरे। सुरूका केही दिन त हाँसखेलमै बिताए । वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरूमा एक खालको तनाव पैदा भयो। उनीहरूका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए। एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन्। उनले पनि सहजै स्वीकारे।

अन्ततः राममायाले आफ्नै श्रीमानको बिहे बहिनी मोतिमायासँग गराइन्। बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु। बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुसी आउँथ्यो। तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो। दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे। तीन वर्ष अघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक/एक छोरा जन्माए।

यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन्। आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए। भीमबहादुरका श्रीमतीले मासिक रु १५ देखि २० हजार पठाउने गर्छन्। उनले सबै पैसा बैंकमा राखेका छन्। त्यसैबाट उनले रु तीन लाख बैंकमा जोडेको छन्। ‘यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्’, उनले भने।

भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। श्रीमान् घर कुरेर बस्छन्। उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन्। उनीहरू पनि दिदीबहिनी हुन्। जेठी अहिले विदेशमै छिन्। जेठीकी दुई छोरा भए। कान्छीपट्टिबाट जन्मेको छैन। दस वर्ष अघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जान्छन्। काम नहुँदा घर कुरुवा भएर बस्छन्। बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाए।

उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प। भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमाए। त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा थिइन्। एकैचोटी गुटुङ्टुङ भएर हल्लायो। एकैछिनमा घर गर्लामगुर्लुभ ढल्लो। मायस पुरिए। आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो। गाउँलेले निकै समय लगाएर आमालाई त निकाले। छोरा फेला परेनन्। तीन दिनपछि छोराको लास भेटियो।

गाउँका धेरै महिला विदेश– भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन्। छिमेकी मिलन तामाङकी श्रीमती सलमाया पनि कुवेत गएको निक्कै समय भयो।

छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरूले बताए। सानुकान्छी तामाङकी छोरी सुनमाया पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन्। सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका छ जना महिला वैदेशिक रोजगारीमा छन्। उनीहरूका श्रीमान् घर रुँगेर बस्छन्। गाउँलेका अनुसार पुरुषहरू गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन्।

कानुनमा के छ– विगतको मुलुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपु’ङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो । मुलुकी अपरा’ध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसूरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानुनी व्यवस्था छ।

उक्त क’सूरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ। यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ।

उक्त क’सूरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कैद र रु तीन हजार जरिवाना तथा विवाह बदर हुने उल्लेख छ। हद म्याद भने तीन महिनाको छ। कानुनमा कार’बाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानुनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम भने रोकिएको छैन।

तपाईको प्रतिक्रिया