काठमाडौं / ठेकेदारसँग बैंक खातामार्फत घूस रकम बुझ्ने गरेका सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभाग मातहतको इलामस्थित डिभिजनल कार्यालयका सुवास बस्नेतलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको छ । प्रमाण नष्ट गर्न नपाऊन् भनेर उनलाई नियन्त्रणमा लिइएको समेत आयोगले उल्लेख गरेको छ । आयोगले छानबिन थालेपछि उनलाई हालै इलामको डिभिजन कार्यालयबाट हटाई विभागमा तानिएको हो ।

बस्नेतले ठेकेदारलाई बिलको भुक्तानी गर्ने क्रममा बैंक खातामा घूस रकम जम्मा गर्न बाध्य पार्ने गरेको आयोगले उल्लेख गरेको छ । प्रारम्भिक छानबिनका क्रममा बैंक खातामार्फत ठेकेदारसँग घूस रकम लिने गरेको भेटिएकाले उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

अख्तियार स्रोतका अनुसार बस्नेतले अहिलेसम्म लिएको घूस रकम कति छ भन्ने यकिन हुन बाँकी रहेको छ । उनका विभिन्न बैंकमा रहेका खाताको विवरण संकलन भइरहेको जानकारीसमेत स्रोतले दिएको छ । कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया