सुनसरी । नेपाल सरकारले सुनसरी सदरमुकाम इनरुवा देखि पूर्व र इनरुवाबाट पश्चिम गरी दुई खण्डमा गरी निर्माणको तयारी गरिरहेको पूर्वपश्चिम रेलमागको अन्तिम डीपीआर तयार पारेको छ ।

रेल विभागका अनुसार दुई खण्डमा विभाजन गरी डीपीआर तयार पारिएको पूर्वपश्चिम रेलको इनरुवादेखि पूर्व इटहरीको स्टेशनमा भारतबाट आउने रेललाई पनि जोड्न सकिने गरी योजना तयार पारिएको छ ।

इनरुवाको प्यासेन्जर स्टेशनबाट सुरु हुने पूर्वतर्फको रेलमा भारतबाट आउने रेल जोड्ने गरी इटहरीमा स्टेशनको निर्माण गर्ने, इटहरीको पश्चिमतर्फ अर्को प्यासेन्टर स्टेशन रहने त्यहाँबाट छुटेको रेल माथिल्लो बलेपुरको स्टेशनमा प्यासेन्जर बोकेर चण्डीटोल हुँदै उर्लाबारी पुग्ने छ ।

उर्लाबारीबाट अगाडि बढेको रेलले दमकमा यात्रुले चढ्ने र झर्ने सुविधा पाउने छन् । त्यसपछि दमकमा यात्रु झार्ने र चढाउने सुविधासहितको प्यासेन्जर स्टेशन रहेन । त्यहाँबाट यासोमा सिग्गल स्टेशन निर्माण गर्ने, सुरुङ्गा हुँदै विर्तामोड पुग्ने छ । सुरुङ्गामा पनि प्यासेन्जर झर्ने र चढ्ने सुविधा मात्रै हुने छ । बिर्तामोडमा भने प्यासेन्टर स्टेशन रहने छ ।

विर्तामोढबाट छुटेको रेल काकडभिट्ठा पुग्ने छ । त्यहाँ भने पूर्वको अन्तिम बिन्दुको रुपमा ‘टर्मिनल स्टेसन’ निर्माण गरिने डीपीआरमा उल्लेख छ ।

त्यस्तै इनरुवादेखि पश्चिमतर्फको यात्रामा सप्तरीको राजविराज, मोहनपुर, बनरझुला हुँदै रेलमार्ग सिराहाको लहान पुग्नेछ । लहानमा प्यासेन्जर स्टेसन हुने हुँदा यात्रुले त्यहाँबाट रेल चढ्ने र झर्ने सुविधा प्राप्त गर्न सक्ने छन् ।

लहानबाट रेल पश्चिमतर्फ लागेर पूर्वपश्चिम राजमार्गको छेउछाउबाट धनगढी, असनपुर हुँदै मिर्चैया बजार पुग्ने छ । मिर्चैया बजारबाट कल्यानपुर, यजनभूमि, नक्तझ हुँदै महोत्तरीको बर्दिबास आइपुग्ने गरी डीपीआर तयार भएको रेल विभागले जनाएको छ ।

बर्दिबासको प्यासेन्जर स्टेसनपछि रेल बेलगाछी, बारान्तोल, जबडी हुँदै बाराको धुर्कौली पुग्ने छ । धुर्कोलीमा प्यासेन्जर स्टेसन रहने र त्यसपछि रेल कर्मैया हुँदै चन्द्रनिगाहपुर पुग्छ । चन्द्रनिगाहपुरमा ‘मेन स्टेसन’ रहने जनाइएको छ ।

डीपीआर अनुसार चन्द्रनिगाहपुरको चोचादेखि नवलपरासीको तम्सरियासम्म छुट्टै खण्ड तोकिएको छ । यो खण्डमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पुनः डीपीआर तयार गर्नुपर्ने भएको रेल विभागले जनाएको छ । पुरानो डीपीआर अनुसार चोचादेखि तम्सरिया खण्डमा पर्सोना, मनहरुवा, भवानीपुर र सिमरा समेटिएका थिए । नयाँ डीपीआर अनुसार पूर्वपश्चिम रेलमार्ग नारायणगढ बजारतर्फको भागबाट बन्ने छ ।

नवलपरासी खण्डको तम्सरिया, कुसुण्डे, दुम्कीबास, बेलानी, उर्दिया, टिकापुर, सुनवलबाट रेलमार्ग रुपन्देहीको सितलनगरसम्म पुग्ने छ । नवलपरासीमा ७ वटा ‘प्यासेन्जर स्टेसन’ रहने डीपीआरमा उल्लेख छ ।

बुटवलबाट पश्चिमतर्फ कपिलवस्तु हुँदै रेलमार्ग दाङको लमही पुग्ने छ । लमहीबाट चौलाही, सतबरिया, रामनगर, हर्दवा, छापारगौरी, गबर, अगैया, मथेवास, मध्यपुरी र रंगीतालमा स्टेसन हुँदै कोहलपुरसम्म रेलमार्ग बनाउने गरी डीपीआर तयार भएको छ ।

कोहलपुरबाट बर्दिया जिल्लाको विभिन्न भाग हुँदै रेलमार्ग कैलालीको पहलवानपुर पुग्नेछ । कैलालीको पहलवानपुर, लंगडी, अत्तरिया, ओखलफाँटा र महेन्द्रनगरमा रेलको यात्रु स्टेसन बन्नेछन् । महेन्द्रनगरपछि रेलमार्ग कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा पुग्ने जनाइएको छ ।

रेल विभागका अनुसार सञ्चालनको अन्तिम तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्गबाहेक सरकारले ६ वटा रेलमार्ग निर्माण परियोजनालाई अगाडि बढाएको छ ।

प्रस्तावित पूर्वपश्चिम रेलमार्ग नेपालको सबैभन्दा लामो रेलमार्ग परियोजनाका रुपमा प्रस्ताव गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्गको लम्बाई १ हजार ३ किलोमिटर ८५६ मिटर हुनेछ ।

पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई ६ वटा खण्डमा विभाजन गरिएको छ । रेलमार्गको लागत ६ खर्ब ८७ अर्ब हुने अनुमान गरिएको छ ।

रेल विभागले चितवन राष्ट्रिय निकुञ्जबाहेक पूर्वपश्चिम रेलमार्गको डीपीआर निर्माण पूरा भइसकेको जनाएको छ । निजगढदेखि तम्सरियासम्मको डीपीआर निर्माण गर्ने काम पनि भइरहेको छ । ‘बर्दिबास र निजगढ खण्डको ७० किलोमिटर क्षेत्रमा रेलको ट्रयाकबेड र पुल बनाउने कार्य भइरहेको छ ।

रेलमार्ग सञ्चालनपछि नेपालीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा ७–८ घण्टामा गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया