प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ। टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो।

बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको हो।

रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिएका थिए। राजधानीमा रहेर धम्की दिँदै आएका उनलाई पक्रन गएको महाशाखाको टोलीले गोली चलाएको हो।

उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाले बताए। गोली लागेका तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ।

तपाईको प्रतिक्रिया