रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीमाथि गत असार २० गते राति भएको बलात्कारको घटनालाई मिलापत्र गराएर सामसुम पार्ने र लेनदेनमा अपराध टुँग्याउन खोज्ने गाउँका १० जना अगुवा मध्ये सात जना पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशी छन् । घर गाउँबाटै पक्राउ परेका सबै जना विरुद्ध शुक्रबार प्रहरीले जवरजस्ती करणी मुद्दामै अनुसन्धान अघि बढाउन अदालतबाट चार दिनको म्याद थप गरेको छ ।

पीडित बालिकालाई एक लाख ५० हजार रुपैयाँ पीडक पक्षबाट दिलाएर लेनदेनमा घटना टुँग्याउनका लागि मिलापत्र गराउने मध्ये तीन जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनका अनुसार ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार छन् । उनीहरुको खोजीका लागि प्रहरीको विशेष टोली खटाइएको छ ।

अशक्त १६ वर्षीय बालिकामाथि तीन जना मिलेर बलात्कार गरेको घटनामा गाउँकै १० जना अगुवाले एक लाख ५० हजार रुपैयाँ पीडित पक्षलाई दिने सर्तमा मिलापत्र गराएर पीडकलाई उन्मुक्ती दिलाउने र घटनालाई सामसुम पार्ने प्रयास गरेका थिए । प्रहरीले बलात्कारमा संलग्न २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई साउन ३ गते मात्रै पक्राउ गरेको थियो । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न २३ वर्षीय सुनील चौधरी फरार छन् ।

घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर बोलाइएको विशेष छलफलमा घटना कहीं पनि सार्वजनिक नगर्ने सर्तमा असार २६ गते मिलापत्र गरिएको थियो । भेलामा पीडित पक्षलाई मिल्न दबाब दिंदै मिलापत्र गराएर उपचार खर्च वापत पीडकबाट एक लाख ५० हजार रुपैयाँ दिलाउने उधारो कागज गराइएको थियो । तीनै जनाले साउन ६ गते भित्रमा पीडित किशोरीलाई ५०–५० हजार रुपैयाँ दिने कागजमा उल्लेख छ । तर त्यस अघि नै घटना बाहिरिएपछि लेनदेन भने हुन नपाएको र घटनामा संलग्नलाई पक्राउ गरिउको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनालाई मिलापत्र गराउनेलाई भने लामो समयसम्म पक्राउ गरेको थिएन । प्रहरीले चाहेको भए घटना गराउने र मिलापत्र गराउने सबैलाई पहिले नै पक्राउ गर्न सक्ने स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पक्राउ गरेर कारबाही गर्ने भन्दा पनि मिलापत्र गराउनेहरुलाई संरक्षण गर्ने भूमिकामा प्रहरी देखिएपछि समस्या भएको थियो ।

पीडितलाई मिल्न दबाब दिएर गरिएको मिलापत्रको कागजमा १० जनाकै हस्ताक्षर छ । कागजमा तीन जना मिलेर बलात्कार गरेको कुरा पनि उल्लेख छ । प्रहरीले पक्राउ नगर्दा भने मिलापत्र गराउनेहरुले उल्टै विभिन्न खाले धाक, धम्की दिइरहेको पीडित पक्षको गुनासो छ ।

तपाईको प्रतिक्रिया