काठमाडौं । ललितपुरस्थित सातदोबाटो चोकमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ नगद चोर्ने व्यक्तिलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।

 केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका विभिन्न प्रकारका चोरी गर्ने कार्यमा व्यक्तिहरुलाई खोजीकार्य गर्ने क्रममा स्कुटरको डिक्कीबाट नगद चोर्ने मोहन मगर भन्ने मोहन खत्री पक्राउ परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

साउन २० गते राती ८ बजेको समयमा ललितपुर महानगरपालिका भैंसेपाटीका ३० वर्षीय शिवराम आलेमगरले रोकिराखेको स्कुटरको डिक्कीबाट खत्रीले नगद २ लाख चोरेका थिए ।

सोही उजुरीको आधारमा बाँके सितापुर नगरपालिका–३ घर भई हाल भैंसेपाटी बस्ने ३५ वर्षीय खत्रीलाई चोरी गरेको रकममध्ये ८९ हजार र २ वटा मोबाइलसहित पक्राउ गरिएको एसएसपी थापाले बताए ।

पक्राउ परेका खत्रीलाई महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया