सानोमा एलिसा साहलाई ‘भविष्यमा के बन्छौ’ भनेर कसैले सोध्यो भने उनी सधैं भन्थिन्- बुवाको बिजनेस सम्हाल्छु।

बुवाको व्यवसाय के हो, कसरी गर्ने भन्ने भेउ नपाउने उमेरमा उनको जवाफ ‘रेडिमेड’ थियो।

‘चिनजानका धेरै मान्छेले अमित (एलिसाका बुवा)का ३ छोरी मात्र छन्। व्यवसाय सम्हाल्ने मान्छे छैन भन्थे। त्यो सुन्दा नराम्रो लाग्थ्यो,’ माइली सन्तान एलिसाले भनिन्, ‘बाल्यकालमा रिसको झोंकमा भन्दिन्थेँ। पछि उद्देश्य त्यही भयो।’

झोंकमा बनेको त्यो उद्देश्य २०७१ सालमा पूरा भयो। काठमाडौं विश्वविद्यालयबाट एमबिए सक्नेबित्तिकै उनी बुवाको व्यवसाय अर्थात् ‘राइनो- नेपाल लेदर क्राफ्ट’ मा आवद्ध भइन्।

राइनो लेदर्सले विशेषगरी छालाको ज्याकेट बनाउँछ। प्यान्ट, स्कर्ट, सर्ट, झोला, ब्रिफकेस, किरिङ, पर्स, क्याप, पेटी, पन्जादेखि ल्यापटप, मोबाइल, डायरीका खोललगायत पनि।

यसको कारखाना र एउटा शोरूम मैतीदेवीमा छ। अर्को शोरूम दरबारमार्गमा।

राइनो लेदर्स ब्रान्डका सामान अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत र केही युरोपेली देश निर्यात हुने एलिसा बताउँछिन्।

‘वार्षिक तीन-चार करोडको कारोबार हुन्छ,’ २८ वर्षीया एलिसाले सुनाइन्।

Image may contain: 2 people, people sitting, people standing and indoor

यो व्यवसाय एलिसाले सानो छँदा ‘सम्हाल्छु’ भन्नेबेलादेखि भने थिएन।

बारा, कलैया मूल थलो भएका अमित काठमाडौं मैतीदेवी बस्छन्। उनी पहिले विभिन्न काम गर्थे। २०४१ सालतिर बाहिरबाट विद्युतीय सामान ल्याएर कारोबार गरे। २०४६ सालदेखि साथीसँग मिलेर नेपाली कपडा विदेश पठाउन थाले। त्यो व्यवसाय निकै फस्टायो। कर्मचारी नै पाँच-छ सय भएको अमित सम्झिन्छन्।

अमितका अनुसार २०५२ सालतिर कपडाको ठूलो अडर्र आयो। एक्लै गर्न नसक्ने बुझेर उनीहरूले थप तीन साथी खोजे।

‘मैले आफ्नो भागको काम सकिसकेका थिएँ। अरूले सकेनन्,’ अमितले त्यो बेलाको समस्या सुनाए, ‘समयमा काम नसकेपछि ग्राहकले सामान लैजान मानेन। एक करोड जति घाटा लाग्यो।’

यो घाटाले उनलाई आर्थिक समस्या आइपर्‍यो। बैंकको ब्याज तिर्न धौ–धौ भयो। ऋण तिर्नै भनेर जग्गा बेचेको उनी बताउँछन्।

पक्का व्यवसायीले काम गर्न हार मान्दैन भनेझैं उनी लागिरहे।

२०६१ सालमा नेपाल विश्व व्यापार संगठनमा आवद्ध भयो।

‘यसपछि नेपाली गार्मेन्ट व्यापारीले अमेरिकाबाट पाउने कोटा अर्डर पाउन छाडे। पहिले अमेरिकाले धेरै देशलाई कोटा दिन्थ्यो, त्यो हट्यो,’ अमित सुनाउँछन्,’ नेपालका सबै जसो गार्मेन्ट सुके। मैले पनि बन्द गरेँ।’

यसपछि ‘अब के गर्ने’ भनेर उनलाई चिन्ता पर्न थाल्यो। उनी बस्ने टोलमा एक जनाले छालाको व्यवसाय गर्थे। त्यहीँका कामदारले उनलाई छालाकै काम गर्न सुझाए। सहयोग गर्ने बाचा समेत गरे।

 

‘उनीहरूकै सहयोगमा लेदर व्यवसाय सुरू गरेँ।’ मान्छेले छिट्टै याद गर्ने नाम राख्न धेरै सोचे रे। छाला भनेपछि बलियो हुने संकेतका लागि गैंडा सम्झिँदै ‘राइनो’ राखेको बताउँछन्।

पाँच सय हाराहारी कामदारको कपडा व्यवसाय बन्द गरेर उनले पाँच कामदार राखे। २०६६ सालदेखि घरमै तीन वटा मेसिनबाट छालाको काम थाले।

सुरूआती दिनमा आफ्नो पसल थिएन। न्युरोड, असनतिरका व्यापारी साथीहरूलाई सामान दिन थाले। त्यो बेला एउटा ज्याकेट १५ सयदेखि २ हजारसम्ममा बेच्थे। व्यवसाय फस्टाउँदै गयो। २०६७ सालमा उनले दरबारमार्गमा शोरूम नै खोले।

आफ्ना बुवाको यही सफलता टिकाइराख्न छोरी एलिसाले सहयोग गर्न थालिन्।

‘उहाँ एक्लै हुनुहुन्थ्यो र कामको चाप धेरै थियो। विदेश जानु वा जागिर खानुभन्दा मलाई आफ्नै व्यवसाय सम्हाल्नु ठीक लाग्यो,’ एलिसाले भनिन्।

व्यवसायमा लाग्न उनले सोचेजस्तो सहज थिएन।

‘सुरूमा त बुवासँगै कुरा नमिल्ने नि। उहाँ पुरानो तरिकाले नै गर्न खोज्ने, म नयाँ गर्न खोज्ने। हाम्रो तालमेल हुनै केही समय लाग्यो,’ उनी सुनाउँछिन्। एलिसा व्यापार बढाउन चाहन्थिन्। यसका लागि उत्पादन र उत्पादनका लागि कामदार बढाउनुपर्थ्यो।

उनलाई पुराना कामदारसँग तालमेल गर्न पनि गाह्रो भयो। १३-१४ वर्ष पुराना कामदारले नयाँ मान्छेलाई नटेर्ने। बल्लतल्ल मिलाइन्।

एलिसालाई नयाँ कामदार ल्याउन पनि चुनौती भयो। थोरै समय काम गरेर जाने प्रवृत्ति भएकाले कामदार स्थिर थिएनन्।

‘यसै त काम जानेका मान्छे पाइँदैन। फेरि धेरैजसो पुरुष थिए र त्यो बेला वैदेशिक रोजगारीमा जाने होड थियो,’ एलिसाले भनिन्, ‘मेरो फोकस कामदार खोजीमै थियो।’

उनले माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासगँ कुरा गरिन्। अनुराधाले सुरूमा ६ जना महिलालाई काम सिक्न पठाइदिइन्। त्यही बढ्दै-बढ्दै अहिले राइनो लेदर्सका कामदारमध्ये ६० प्रतिशत महिला भएको एलिसाले बताइन्।

नयाँ तरिकाले काम गर्न लागि परेकी एलिसाले ‘मार्केटिङ’ पनि थालिन्। ठूला व्यवसायिक कम्पनीमा फोन गरिन्, आफैं धाइन्। कम्पनीलाई आवश्यक झोला, किरिङ जस्ता सामानको नमूना दिइन्। सामाजिक सञ्जालको भरपुर उपयोग गर्दै प्रचारमा लागिन्।

‘कम्पनीहरूमा सामान पहिले पनि जान्थ्यो। तर बीचमा एजेन्ट हुन्थ्यो। आफैं गयो भने ग्राहकसँग लामो समय काम गर्न र सस्तोमा पनि दिन सकिन्छ,’ एलिसा व्यवसाय नीति बुझाउँछिन्। अहिले राइनो लेदर्सले धेरै कम्पनीसँग सहकार्य गरिरहेको छ।

राइनो लेदर्सले सिन्धुपाल्चोक र आसपास क्षेत्रबाट छाला ल्याउँछ। त्यस्तै केही भारत, न्युजिल्यान्ड र पाकिस्तानबाट पनि।

‘नेपालमा पहिलेका तुलनामा धेरै छाला पाइए पनि पुग्दैन। विदेशबाट ल्याउन बाध्य छौं,’ उनले भनिन्, ‘नेपाली छाला परम्परागत रूपमा बनाइने भएकाले तयार हुन एक महिना लाग्छ। सधैं नेपाली छाला प्रयोग गर्न सम्भव हुँदैन।’

त्यस्तै के सामान बनाउने हो त्यही‍अनुसार जनावरको छाला प्रयोग गरिने उनले जानकारी दिइन्। लुगाका लागि भेडाको राम्रो, झोला-पर्स जस्ता सामानका लागि भैंसीको।

एलिसाको अर्को धून पनि थियो- नेपाली लेदर ब्रान्डलाई नेपालमा मात्र नखुम्च्याउनू। त्यसैले उनी एकपटक जर्मनीमा आयोजित प्रदर्शनीमा गइन्। त्यहाँ राइनो लेदर्सको प्रचार गर्ने मौका जुर्‍यो।

‘मैले इमेलमार्फत् पनि विदेशका विभिन्न स्टोरमा सामानको जानकारी दिन थालेँ। पछि इमेलबाटै अर्डर आउन थाल्यो,’ उनी भन्छिन्, ‘पहिले त यहाँ किन फसेँ जस्तो लाग्थ्यो। अब त यसमै जोडिएँ। झन् छालाको बजार बढ्दो छ, प्रतिस्पर्धा नि धेरै। काम गर्न ऊर्जा मिल्छ।’

सुरूमा तनाव दिएको यही काम अहिले ‘मोटिभेसन’ भएको एलिसा बताउँछिन्। उनले बहिनीलाई पनि काम सिकाउँदै छिन्। अस्ट्रेलिया बस्ने दिदी उतै शोरूम खोल्ने तयारीमा छन्।

कुनै बेला अमितलाई ‘छोरी मात्र छन्, कसले सम्हाल्छ व्यवसाय’ भन्नेहरूलाई उनका छोरीले जवाफ दिइसकेका छन्।

छोरीको साथ र मिहेनत देखेर गर्व लाग्ने अमित बताउँछन्।

‘मान्छे छोरीले काम गर्न सक्दैनन् भन्छन्। तर मलाई छोराभन्दा छोरीकै भर लाग्छ। मिहेनती पनि,’ अमित सुनाउँछन्, ‘छोरी कुनै क्षेत्रमा कम छैनन्। मेरो छोरा भएको भए के गर्थे थाहा छैन, छोरीले एकदम राम्ररी मेरो बिजनेस सम्हालेका छन्।’

तपाईको प्रतिक्रिया