‘हप्तामा दुई तीन वटा घटनाहरु भइरहन्छन्। एकाएक कसरी यो बढ्यो हामीलाई समेत टाउको दुखाईको विषय थियो। किनभने स्न्याचिङ जुन सुकै चोरले सजिलै आँट गर्न सक्दैन’, डीएसपी बोगटी भन्छन्। प्रहरीले अनुसन्धान अगाडि बढायो।सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु भयो। अनि पछि लाग्यो- सिल्भर रङको २ सय सिसीको बाइकमा हिँड्ने दुई जना व्यक्ति पछाडि। प्रहरीको निष्कर्श थियो- पछिल्लो समय आइरहेका उजुरीमा संलग्न यीनै व्यक्ति हुन् किनभने एकै रङको बाइक प्रयोग भएको थियो सबै घटनामा ।
ओखलढुंगाका ३९ वर्षीय टमबहादुर सुनुवार, रामेछापका ३४ वर्षीय टलकबहादुर रायमाझी र प्रकाश सुनुवारबीच कास्की कारागारमा आपसमा चिनजान भएको थियो। टमबहादुर अन्य चोरीको मुद्धामा जेल छिरेका थिए भने टलक र प्रकाश भने स्न्याचिङकै अभियोग थियो। पहुँचका आधारमा प्रकाश करिब एक वर्ष जेल बसेपछि आम माफी पाएर छुटे। टलक भने तीन वर्षभन्दा बढी समय कारागार बसे। यी तीनै जना दुई वर्षअघि जेलबाट छुटिसकेका थिए।
तर चोर्ने लत फेरिएन। प्रकाश र टमबहादुर बाइक लिएर स्न्याचिङ गर्न थाले। टम बाइक कुदाउँथे भने प्रकाश पछाडि बसेर सिक्री लुछ्थे। विस्तारै उनिहरुको सम्पर्कमा रायमाझी पनि पुगे। रायमाझीले लुछिएको सिक्रीको व्यवस्थापनको जिम्मा पाएका थिए। त्यसका लागि उनले ललितपुरको बालकुमारीमा रहेको एक सुन पसलमा काम गर्ने भारतीय नागरिक ३४ वर्षीय देवासिस दोलहीलाई सम्पर्कमा ल्याए। देवासिस सुन बनाउने कालिगढ हुन्। लुटिएको सुनलाई गाल्ने काम दोलहीको थियो।
काठमाडौं प्रहरीले शुक्रबार प्रकाशबाहेक तीन जनालाई पक्राउ गरेको छ। ‘ ठुलो तनाव कम भएको छ। किनभने स्न्याचिङका कारण जनगुनासो निकै थियो’, डीएसपी बोगटी भन्छन्।