अहिले जनमानसमा जल्दोबल्दो रुपमा रहेको समस्या हो घुँडा दुख्ने,ढाडदुख्ने तथा ठूला तथा साना जोर्नीको दुखाइ। घुँडामा हुने दुखाइ वा घुँडा खिइनुलाई जानुसन्धिवात भनिन्छ र आधुनिक भाषामा यसलाई ओस्टियो आर्थ्राइटिस अफ नी भनिन्छ। हाम्रो दैनिकीमा हुने धेरै जसो क्रियाकलापमा घुँडाको प्रत्यक्ष संलग्नता हुने हुँदा पनि शरीरमा कुनै चोटपटक लाग्दा घुँडामा असर पर्दछ। यो पुरुष र महिला दुबैमा देखिएपनि महिलामा पुरुष भन्दा तुलनात्मक रुपमा धेरै र कम उमेरमा देखिने गर्दछ।

घुँडा दुख्ने तथा खिइने कारण
-सामान्यतया यो उमेर बढ्दै गएपछि देखिने समस्या हो। उमेर बढ्दै गएपछि शरीरले क्याल्सियम कम मात्रामा बनाउछ जुन हड्डी बन्ने मुख्य तत्व हो। यसको कारण जोर्नीमा हुने तरल पदार्थ कम हुँदै जान्छ र घुँडामा दुखाइ हुने र घुँडा खिइन्छ।

– अव्यवास्थित, मिथ्या र पोषणरहित आहारको धेरै मात्रामा सेवन गर्नाले,

-शरीरको मोटोपन (शरीरले भार थेग्न नसक्ने वजन) तथा अधिक परिश्रम गर्नाले,

-चिसो ठाँउमा बढी बस्ने र चिसो आहार बढी सेवन गर्नाले,

-चोटपटक र हड्डी सम्बन्धि रोग लागेमा,

-धेरै समयसम्म पलेटी कसेर वा टुक्रुक्क बस्नाको कारण,

-युरिक एसिड तथा आमवात जस्ता रोगको सहि तरिका र समयमा उपचार नभएमा,
हड्डी खिइने समस्या हुन सक्दछ।

यसको लक्षण:
– घुँडामा दुखाइ,

– घुँडा चलाउदा कट्कट आवाज आउने,

– सुरुमा घुँडा सुन्निने र समस्या बढ्दै गएमा पुरै खुट्टा नै सुन्निने,

– उकालो ओरालो गर्दा दुख्ने,

– खुट्टा रातो हुने,

– भुइमा बसेपछि उठ्न गाह्रो हुने,

– घुँडा खुम्चाउन र चलाउन गाह्रो हुने,

साथै यसको अन्तिम चरणमा घुँडा बाङ्गो हुने र हिडडुल गर्न गाह्रो हुन्छ।

उपचार:
साधारणतया अधिक दुखेमा पेनकिलर प्रयोग गरिन्छ, चिकित्सकको सल्लाहबिना आफूखुसी यस्तो औषधि सेवन गर्दा पछि मिर्गौलाको समस्या र अन्य जटिल खालका रोग देखिन थाल्दछन। विभिन्न औषधि, फिजियोथेरापी, व्यायाम र अन्तिम अवस्थामा शल्यक्रिया मार्फत उपचार गरिन्छ।

आयुर्वेदमा भने यसलाई कृच्छ साध्य रोग अन्तर्गत राखिएको छ, जसको अर्थ औषधिसंगै आहारबिहार सन्तुलन तथा पथपरेजमा रहेमा लक्षण कम हुन्छ वा सुरुको अवस्थामा भएमा पूर्ण निको पनि हुन सक्दछ। आयुर्वेदानुसार बिबिधशास्त्रीय औषधिको सेवन तथा पंचकर्मको प्रयोग गरि रोगको उपचार गर्न सकिने कुरा बताईएको छ। जानुवस्ती तथा वातहर द्रव्यको साथै योगको प्रयोग गर्नाले यो समस्याको लक्षण कम हुदै जान्छ।

बजारमा वाथरोगको दुखाइ सन्चो गर्ने भनी आयुर्वेद औषधिको नाम दिएर अनाधिकृत र गैर आयुर्वेद व्यक्तिले चन्दा भन्ने नाम वा नामनै उल्लेख नगरेका गोलि तथा स्टेरोइड पिसेर दिने गरेको पनि पाइन्छ। जसले खाने बित्तिकै आजको भोलि दुखाइ कम हुन्छ, आज सन्चो भएपनि निकट भविष्यमा यसले शरीरमा नराम्रो असर गर्दछ। स्मरण रहोस की यसले घुँडा ठिक बनाएर हैन,दुखाइ अनुभव गराउने नशाहरुको कार्य रोकेर ठिक भएको भ्रम दिने मात्र हो। त्यसैले उपचार तथा सल्लाह लिने बेलामा दर्तावाला आयुर्वेद चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुहोला तथा प्रस्ट रुपमा औषधिको नाम लेखिएको प्रेस्किप्सन माग्नुहोला।(swasthya khabar)

तपाईको प्रतिक्रिया