मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पछिल्ला दिनमा रगतको अभाव देखिएको छ। उपचारका लागि भर्ना भएका बिरामीहरुलाई आवश्यक रगत सहज रुपमा उपलब्ध नहुँदा हस्पिटलमा उपचार प्रभावित भएको छ।
दशैँपछिको समयमा सामाजिक संस्थाहरुले गर्ने रक्तदान कार्यक्रमहरू ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य स्वास्थ्य संस्थाहरूमा पनि रगतको अभाव तीव्र बनेको हो। विराट ब्लड बैंकका इन्चार्ज प्रविण दाहालका अनुसार अहिले सबै समूहका रगतको कमी देखिएको छ। विशेषगरी पोजेटिभ समूहका रगत समेत अभावमा परेका छन्।
“विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुन्छ, तर हाल दैनिक १५ देखि २० पिन्ट मात्र संकलन हुन सकेको छ,” दाहालले बताए। उनका अनुसार रगत नपाउँदा दुर्घटनाका घाइते, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरू सबै प्रभावित भएका छन्।
रगतको अभावले बिरामीका आफन्तहरूलाई समेत ठूलो समस्या भोग्नुपरेको छ। चिकित्सकले तत्काल रगत चाहियो भनेपछि उनीहरू सम्बन्धित समूहको रगत खोज्दै अस्पतालदेखि ब्लड बैंकसम्म दौडधुप गर्न बाध्य हुने गरेका छन्। धेरैजसो अवस्थामा रगत नपाउँदा उपचारमा ढिलाइ हुने गरेको छ।
नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा सुविधा सम्पन्न अस्पतालहरूको घनत्व उच्च भएकाले टाढा–टाढाबाट बिरामी आउने र त्यसका कारण माग पनि असामान्य रूपमा बढ्ने बताएको छ। तर मागअनुसार आपूर्ति हुन नसक्दा केन्द्रमा संकट सिर्जना भएको हो।
विराट मेडिकल कलेजले रगत अभावका कारण अस्पतालभित्रै आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई रक्तदान अभियानमा सहभागी हुन अनुरोध गरेको छ। साथै, हस्पिटलले आम नागरिक र संघ–संस्थालाई पनि रक्तदान गरेर जीवन बचाउने अभियानमा हातेमालो गर्न आह्वान गरेको छ।
इच्छुक महानुभावले विराट ब्लड बैंकमा सम्पर्क गरी रक्तदान गर्न सक्नेछन्। ब्लड बैंकले इच्छुक दाताहरुलाई सम्पर्कका लागि फोन नम्बर ९८०२७०९०८१ सार्वजनिक गरेको छ।















