इटहरी/ सिरियल छायांकनका क्रममा भएको झगडा तथा गलत दुर्व्यवहार गरेको भन्दै इटहरीबाट चलचित्र क्षेत्रमा आवद्ध २ चलचित्रकर्मीलाई संस्थागत कारबाही गरिएको छ । निर्माता तथा कलाकार बोधराज पुरुष र अर्का निर्माता तथा निर्देशक भिम लामालाई चलचित्रकर्मीहरुको सक्रिय संगठन ‘नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १’ ले कारबाही गरेको हो । मुख्य आरोपी पुरुषलाई १ वर्षका लागि प्रतिबन्ध गरिएको छ भने लामालाई ६ महिनाको लागि प्रतिबन्ध गरिएको छ ।

यो अबधिमा अब दुबैले चलचित्रसंग सम्बन्धित गतिविधिहरु जस्तै चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो आदि कार्यहरु निर्माण तथा अभिनय गर्न पाउने छैनन् । यदि यस्तो कार्यमा सामेल भएको पाईएमा अर्को कदम चाल्ने महासंघ अध्यक्ष अरुण कुमार प्रधानको भनाई छ । पिडितले निवेदन दिएपछि यस्तो कदम चालिएको प्रधानले बताए । इटहरीमा रहेको महासंघ कार्यालयमा बुधबार भएको छलफलमा लामा र पुरुष दुबै उपस्थित रहेका थिए ।

 

 

आरोपी दुबैले आफुहरुबाट गल्ती भएको स्विकार गर्दै आगामी दिनमा यो गल्ती नदोहोर्‍याउने र महासंघले गरेको कारबाही भोग्न तयार रहेको सुनाए । यस्तो घटनालाई संस्थागत रुपमा कारबाही गरिएको यो प्रदेश १ मा पहिलो पटक हो । कारबाहीका लागि छलफलमा चलचित्र पत्रकारहरुसंगै महासंघका पदाधिकारीहरु उपस्थित रहेका थिए । बोधराज कलाकारसंगै कवि र गायक समेत हुन् । भिम पनि २०४५ सालदेखि ईटहरीलाई कार्यथलो बनाएर चलचित्र क्षेत्रमा निरन्तर छन् । उनले नाटक लेखन, निर्देशन गर्दै फिल्म निर्माता, निर्देशन तथा लेखनमा पाईला चालेका हुन् । उनले माटो, भेडिगोठ, गोल लगायतका चलचित्रहरु लेखन, निर्माण तथा निर्देशन गरेका छन् । (dthree online)

तपाईको प्रतिक्रिया