इटहरी / विराटनगर–३ की ४२ वर्षीया खगमाया खरेल (अञ्जु ढकाल) बुधबार दिउँसो घरबाट स्कुटर चढेर इटहरीतर्फ निस्किँदा परिवारलाई सहजै भनिन्, ‘सटर तानेर इटहरी पुगेर आउँछु।’
तर, त्यो सामान्य वाक्य नै परिवारका लागि अन्तिम संवाद बन्न पुग्यो।
दैनिक आवश्यक सामान खरिद गर्न निस्किएकी अञ्जुको यात्रा जीवनकै अन्तिम यात्रा बन्यो। सुनसरीको दुहबीमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।
कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८ स्थित पशुपति खाद्य उद्योग अगाडि प्रदेश १–०२–०६० प २१२३ नम्बरको स्कुटर बुधबार दिउँसो करिब ३ः५० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेकी अञ्जुलाई तत्काल विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको थियो। तर, उपचारकै क्रममा साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा अत्यधिक गतिका कारण स्कुटर अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
अञ्जु ढकाल विराटनगर–३ मा लामो समयदेखि ‘पिसजोन मोन्टेसरी’ सञ्चालन गर्दै आएकी थिइन्। उनी केवल शिक्षिका मात्र नभई सयौँ बालबालिकाकी प्रिय अभिभावकका रूपमा परिचित थिइन्। आफ्नै घरबाट सञ्चालन गरेको मन्टेश्वरीमार्फत उनले बालबालिकालाई शिक्षा, स्नेह र संस्कार दिँदै आएकी थिइन्।
उनका श्रीमान् नगेन्द्रप्रसाद ढकाल मोरङको बुढीगंगा–१ स्थित मोरङ पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्। शिक्षण पेसामा समर्पित यो परिवारले आफ्ना दुई छोरालाई काठमाडौँमा अध्ययन गराइरहेको पारिवारिक स्रोतले जनाएको छ।
परिवारका अनुसार अञ्जु बुधबार करिब २ बजे घरबाट निस्किएकी थिइन्। ‘सटर तानेर इटहरी पुगेर आउँछु’ भन्दै सहज रूपमा घरबाट हिँडेकी उनी अब कहिल्यै फर्किनन्। अहिले त्यो वाक्य परिवारका लागि पीडादायी सम्झना बनेको छ।
स्थानीय इन्दु भेटवालका अनुसार अञ्जु अत्यन्त मिलनसार, सहयोगी र नम्र स्वभावकी महिला थिइन्।
‘उहाँ हाम्रो समाजकै अभिभावकजस्तै हुनुहुन्थ्यो। सबैलाई माया गर्ने, सहयोग गर्ने स्वभाव थियो,’ उनले भनिन्।
अञ्जुको अन्त्येष्टि विराटनगरस्थित परोपकार घाटमा गरिएको छ। उनको असामयिक निधनप्रति शोक व्यक्त गर्दै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले विद्यालयसमेत बिदा दिएको जनाएको छ।
दुहबीको सडकमा केही सेकेन्डमै भएको दुर्घटनाले आज एउटा परिवारको खुसी, सयौँ बालबालिकाको प्रिय शिक्षिका र समाजले भरोसा गर्ने असल व्यक्तित्वलाई सधैंका लागि खोसेर लगेको छ।


















