भोक्राहा । गाउँपालिकाको वाडा नम्बर ८ मा वाडा अध्यक्ष र ईन्जिनियरको मिलोमितोमा भएको लाखौं भ्रष्टाचार भएको बारे पूर्वेली न्यूजले समाचार प्रकाशन गरेपछि उक्त गाउँपालिकाका आधा दर्जन गाउँसभाका सदस्यहरुले गाउँपालिकाले गरेको सबै कामकाजको विवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग माँग गरेका छन् ।

प्रदेश नम्बर १ सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको करिब ८० लाख रुपैयाँ बराबरको रकम भोक्राहा नरसिंह गाउँपालिका वाडा नम्बर ८ का वडा अध्यक्ष हातिम अन्सारीले नियोजित ढङ्गबाट भ्रष्टाचार गरेको सुचना बाहिरीएपछि आईतवार र सोमवार गाउँपालिका पुगेको सय बढी स्थानीयहरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई लिखित निवेदन बुझाउदै आर्थिक वर्ष ०७५।०७६ मा विकास निर्माणका गतिविधि बारे लिखित जानकारी माँग गरेका हुन्

भोक्राहा नरसिंह गाउँपालिका वाडा नम्बर ८ का अध्यक्ष अन्सारीले आफनै नातेदारहरुलाई उपभोक्ता समितिमा राखी बनाएको फर्जी समितिको नाममा झण्डै १९ सय मिटर सडक निर्माण गरेको झुटो विवरणको आधारमा प्रदेश सरकारको ८० लाख बराबरको रकम भ्रष्टाचार गरेको सुचना यस अघि नै बाहिरी सकिएको छ । ईन्जिनियर पप्पु कुमार यादवलाई लाखौं रकम घुस दिई फर्जी कामको बिल समेत अन्सारीले बनाएका थिए । सो वाडाको आर्थिक अनियमितता सम्वन्धित समाचार प्रकाशन भएपछि भोक्राहा नरसिंह गाउँपालिकाका आधा दर्जन गाउँ सभा सदस्य समेत घटना छानबिनको माँग गर्दै गाउँपालिकामा निवेदन दर्ता गराएका छन् । यसरी निवेदन गराउनेहरुमा गाउँसभा सदस्यहरु सुनिल कुमार साह, तपेश्वर यादव, कलवा उराँव , शिवनारायण साह, श्यामदेव ठाकुर र अरसद अन्सारी रहेका छन् ।

गाउँसभा सदस्यहरुले आर्थिक वर्ष ०७४।०७५ को लेखा परीक्षण प्रतिवेदन तथा गाउँसभाद्धारा समिक्षा र अनुमोदन गरीएका निर्णयहरुको प्रतिलिपि, गत आ.वा. ०७५।७६ मा गाउँसभा बाहेक कार्यपालिकाले छनौट गरेका योजनाहरुको विवरण , ०७५।०७६ मा लक्षित वर्ग तर्फ भएका विभिन्न कार्यक्रमको पूर्ण विवरण लगायत विभिन्न १२ वटा बुदाँमा आधारित विषयबस्तुसँग सम्वन्धित प्रक्रिया र खर्चको पुर्ण विवरण माँग गरेका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृतले विवरण उपलब्ध गराउन तोक आदेश गरेपनि निवेदकहरुले माँग अनुसारको सुचना प्राप्त गर्न नसकेको गाउँसभा सदस्य सुनिल कुमार साहले प्रतिक्षणलाई बताउनुभयो ।

तपाईको प्रतिक्रिया