रामेछाप, १२ भदौ । तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी आमालाई खोलाले बगाएको छ । रामेछापकी ५६ वर्षीया राधिकादेवी कार्कीलाई खोलाले बगाएको हो । उनको ज्यान गएको छ ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी थिइन् । लगातार वर्षाका कारण उनको घरभन्दा केही पर रहेको ठाडो खोलामा बाढी आएको थियो ।

छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गरेकी थिइन् । घरपरिवारका सदस्यहरुले पनि राधिका घरमा नफर्किएको बताएपछि गाउँलेहरु मिलेर राधिकाको खोजीमा जुटेका थिए । बिहीबार बिहान राधिकाको शव झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले बताए ।

घटनापछि मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र शव पोस्र्टमर्टमका लागि छिमेकी जिल्ला दोलखाको जिरीतर्फ लगिने प्रहरीले बताए

तपाईको प्रतिक्रिया