उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा १८ दिनदेखि सेवा प्रवाह ठप्प छ । मेयर र उपमेयरको झगडा चर्कंदै जाँदा उच्च अदालत बिराटनगरको आदेशपछि नगरपालिकाको सेवा प्रवाह रोकिएको हो । कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागो र नेकपाबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण १८ दिनदेखि काम ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् । सेवाग्राहीसँग शुल्क लिएर गर्नुपर्ने कुनै पनि काम नगरपालिका र वडा कार्यालयहरुले गरेका छैनन् । शुल्क नलिइकन गरिने सामान्य सेवा मात्र सुचारु छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले भने, ‘निशुल्क सेवा सुचारु भइरहेका छन्, आज पनि मैले काम गरें । सशुल्क सेवाचाहिँ सबै बन्द छन् ।’नगरपालिकाले दिने निशुल्क सेवा अन्तरगत ३५ दिनभित्र घटेका व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षासँग सम्बन्धित प्रमाणित सिफारिस, अपाङ्गता भएका व्यक्तिसँग सम्बिन्धत सिरफारिस एवं प्रमाणपत्र जारी गर्ने कुराहरु र नगरपालिकामा टीडीएस कति तिरेको छ भनेर कन्स्ट्रक्सन कम्पनीका ठेकदारले लिने सिफारिस आदि पर्छन् । यी सेवाहरु नगरपालिकाबाट प्रवाह भइरहेको रेग्मीले बताए ।

जन्मदर्ता व्यक्तिगत घटनामा पर्ने भएकाले सुचारु रहेको तर ३५ दिन कटेको व्यक्तिगत घटना दर्तामा थप दस्तुर, शुल्क लाग्ने भएकाले त्यस्तो सेवा पनि रोकिएको रेग्मीले बताए । नागरिकताको सिफारिस पनि रोकिएको उनले जानकारी दिए । नागरिकताको सिफारिस लिँदा सिफारिस दस्तुर लाग्ने भएकाले सिफारिस रोकिएको रेग्मीले स्पष्ट पारे । उनले भने, ‘निशुल्क सेवाहरु सबै हुन्छन्, सशुल्क सेवाहरुचाहिँ अहिले अदालतको आदेशले रोकिएको छ ।’

तपाईको प्रतिक्रिया