विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–८ बाट अटो (टेम्पो) मा राखेर मोरङको उर्लाबारीस्थित घर पुर्याउँदै गर्दा एक पुरुषको अटो भित्रै मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–२ पुरानो मंगलबारेका ५६ वर्षीय कुमार गिरीको उनी चढेकै मे १ ह ४९१० नम्बरको अटोमा सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । प्रहरीका अनुसार डुल्दै जाने क्रममा गिरी दुई दिन अघि शिवसताक्षी–८ का गोविन्द श्रेष्ठको घरमा पुगेका थिए ।

त्यहाँ उनी बिरामी पनि परेको प्रहरीले जनाएको छ । बिरामी परेपछि र घर उर्लाबारीको मंगलबारे बताएपछि गिरीलाई श्रेष्ठ लगायतले अटोमा राखेर घरतर्फ पुर्याउँदै थिए । त्यही क्रममा घर नपुगिकन र मंगलबारे मात्रै आइपुगेपछि उनको अटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी जन्डिस लगायतका रोगका बिरामी रहेको जानकारी परिवारले प्रहरीलाई दिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया