नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्।

‘उहाँको निवेदन आएको छ’, नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले सेतोपाटीसँग भने, ‘तथानाम गाली गरेको भन्दै निवेदन आएको छ। अध्ययन गरिरहेका छौं।’

स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए।

‘२० वर्ष मुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्, समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो’, थापाले लेखेकी छन्, ‘कोसँग लभ छ? कति पटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ।’

तपाईको प्रतिक्रिया