आजभोलि धेरै महिलाको आकर्षण छोटो कपालप्रति बढ्दो छ। लामो कपालभन्दा छोटो कपाल रुचाउनेहरू बढेका छन्। ‘सर्ट हेयर कट’ अहिले फेसन ट्रेन्डमा रहेको छ।

काठमाडौँ, कालिमाटी बस्ने १९ वर्षीया रेश्मा सिलवाल रहरले छोटो कपाल बनाएको बताउँछिन्। ‘पहिला मेरो कपाल लामो थियो,’ उनी भन्छिन्, ‘तर, छोटो कपालको फेसन आएपछि लामो कपाल पाल्छ झ्याउ लाग्यो।’ उनले थाई कट हेयर डिजाइन बनाएकी छिन्। ‘छोटो भएपछि कपाल पखाल्न पनि सजिलो,’ उनी भन्छिन्, ‘हतार हुँदा कस्तो हेयर स्टाइल गर्ने, के गर्ने ‘नो झन्झट’ ! एक पटक को¥यो भइहाल्छ।’

कपाल काटेपछि आफूलाई आनन्द आएको उनी बताउँछिन्। ‘मेरो कपाल लामो र सिल्की थियो,’ उनी भन्छिन्, ‘सबैले मेरो कपालको तारिफ गर्थे। तर, कपालको स्याहार गर्न कति झन्झट हुन्थ्यो, त्यो मलाई मात्र थाहा छ।’

काठमाडौँ, मैतीदेवी बस्ने अस्मिता कोइरालाले कपाल छोटो काटेको धेरै भएको छैन। उनले रिहाना कट हेयर स्टाइल बनाएकी छिन्। ‘सबैले कपाल काटेको देख्दा मलाई पनि रहर लाग्यो,’ उनी भन्छिन्। कपाल छोटो बनाउँदा घरमा गाली खानुपरेको उनी बताउँछिन्। ‘घरका मान्छेले खूब गाली गरे,’ उनी भन्छिन्, ‘एकदुई दिन त घरबाट बाहिर निस्कनै गाह्रो भयो।’ तर, आफूलाई भने यस्तै कपाल मन पर्ने अस्मिता बताउँछिन्। ‘कपाल छोटो भएपछि स्याम्पू पनि कम लाग्छ,’ उनी भन्छिन्, ‘पानी पनि कम लाग्छ, नुहाउन पनि सजिलो हुन्छ।’

पछिल्लो समय छोटो कपाल काट्नेको संख्या बढेको काठमाडौँ मलस्थित फेसियल हाउसकी सञ्चालक सुषमा महरा बताउँछिन्। ‘आजभोलि रिहाना र बब कट खूब चलेका छन्,’ उनी भन्छिन्। कामकाजी महिलासँग कपालको स्याहारसम्भार गर्न त्यति समय नहुने भएकाले उनीहरू छोटो हेयर डिजाइनतर्फ आकर्षित भएको महरा बताउँछिन्। ‘आजभोलिका महिला काममा व्यस्त हुने भएकाले उनीहरूसँग कपाल स्याहार्ने त्यति समय हुँदैन,’ उनी भन्छिन्, ‘छोटो कपाल कोर्न पनि सजिलो हुन्छ। त्यति स्याहार पनि गरिरहनु पर्दैन।’

‘लामो कपाल आज खुला छाडेर हिँड्यो भने भोलि फेरि नुहाउनुपर्ने अवस्था आउँछ,’ महरा थप्छिन्, ‘लामो कपाल सुक्न पनि बढी समय लाग्छ। चिसै कपाल बान्यो भने कसै–कसैलाई टाउको दुख्ने समस्या पनि हुन्छ।’ एकचोटि छोटो कपाल काटिसकेपछि महिलाहरू फेरि–फेरि ‘कपाल पाल्न झ्याउ लाग्यो’ भन्दै आउने गरेको महरा सुनाउँछिन्। ‘एक पटक छोटो कपाल काटेपछि फेरि खासै पाल्न मन लाग्दैन,’ उनी भन्छिन्, ‘‘कपाल बढेर झ्याउ हुन्छ, छोटै पारिदिनुस्’ भन्दै धेरै आउँछन्।’

काठमाडौँ, चाबहिलकी २५ वर्षीया बेन्जु तामाङले एक वर्षअघि ब्वाइज कट काटेकी थिइन्। ‘पहिला मेरो कर्ली कपाल थियो,’ उनी भन्छिन्, ‘आफ्नो कपाल मन नपरेर हेयर स्टे«ट गरेँ। त्यसपछि कपाल बिग्रियो। थरी–थरीका हेयर ट्रिटमेन्ट क्रिम लगाएर पनि सीप लागेन।’ लामो कपालको झन्झट लिनुभन्दा ब्वाइज कट कपाल काटेको उनी बताउँछिन्। ‘कमाएजति पैसा सबै कपालमै खर्च हुन थालेपछि तनाव भयो,’ उनी भन्छिन्, ‘सधैँ झन्झट लिइरहनुभन्दा ब्वाइज कट काटेर तनावमुक्त भएँ।’

लामोभन्दा छोटो कपालमा आफू स्मार्ट देखिएको उनी बताउँछिन्। ‘छोटो कपाल भएपछि पैसा बचत त भएकै छ, आफू पनि स्मार्ट देखिएकी छुजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘कपालमा जेल लगाएर हिँडेपछि दुईतीन दिनसम्म ढुक्क हुन्छ।’

अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया