अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधि प्रदान गरिएको छ । रिवन इन्टरटेनमेन्ट प्रा.लि.द्वारा शनिबार राति राजधानीमा आयोजित विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा नायिका मानन्धरलाई सो उपाधि प्रदान गरिएको हो । प्रतियोगितामा ‘पाँचौं मिसेस नेपाल इन्टरनेसनल २०१९’ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले प्राप्त गर्नुभएको छ । भाविषाले फेसन आइकनको उपाधिसमेत जित्नुभएको थियो ।

कार्यक्रममा अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरलाई क्राउन लगाइदिनुभएको थियो । विभिन्न पेशामा आवद्ध ३० बिबाहित महिलाले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा महोत्तरीकी रंगीना लाईकंग्बमले नेपाल इन्टरनेसनल २०१९ को उपाधि प्राप्त गर्नुभएको छ ।

उहाँले लेडी विथ कम्प्यासनको उपाधिसमेत प्राप्त गर्नुभएको छ । भाविषा र रंगीनाले सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । प्रतियोगितामा रोजिना भट्टराई प्रथम उपविजेता, स्नेहा राउत थापा द्वितीय उपविजेता, शवनम खरेल तृतीय उपविजेता हुनुभएको छ । सो अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतिलाई रिवन अनर अवार्डबाट सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया