धरान: एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगुको संक्रमण धरानमा देखा परेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउनुको साटो झन् फैलदै गएको छ ।

गत बैशाखको अन्तिम साता देखापरेको डेंगु नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश र केन्द्रलेसमेत थुप्रै प्रयास र अभियानहरु चलाएपनि नियन्त्रणमा आउन सकेको छैन । धरानको वडा नं १५ बाट शुरु भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिइसकेको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो दुई साताको तथ्यांक र प्रत्येक वडाबाट आउने रिपोर्टले पनि घरपिच्छे डेंगु संक्रमित विरामी भएको आशंका छ । ‘प्रत्येक वडाबाट अध्यक्ष ज्युहरुले निरन्तर खबर गरिरहनु भएकोछ, अहिले त झन् घरघरमा डेंगु विरामी छन् भन्ने कुरा छ,’धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्,‘मनसुनले गर्दा पनि अब त झन् नियन्त्रणमा चुनौती थपिएको छ, त्यसैले सर्वसाधारण जनता आफै सचेत नभई हुन्न ।’

साउन १ गतेदेखि १५ गतेसम्मको पछिल्लो १५ दिनमा मात्र ४ सय ९० जना डेंगु संक्रमित विरामी थपिएका छन् । हालसम्म धरानमा २ हजार ८ सय ३ जना डेंगु संक्रमित भएको तथ्यांक छ । तर, यो तथ्यांक धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा उपचार गराउन पुगेका विरामीहरुको मात्र तथ्यांक हो । ‘यही तथ्यांकले मात्र पनि महिनामा हजार जना विरामी संक्रमित हुने देखियो । तथ्यांकमा नआएका त झनै धेरै संख्यामा छन्,’उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने,‘हामीले फेरि जनचेतना, सर्च एण्ड डिष्ट्रोय अभियान वृहतरुपमा शुरु गर्ने तयारीमा छांै, नत्र मनसुन पछिको समय झन् भयावह हुनसक्ने देखिन्छ ।’

धरानको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार शुरुमा आफ्नो वडामा एक जना पनि डेंगु संक्रमित देखिएको थिएन । तर, पछिल्लो समय वडा नं १६ मा अत्यधिकरुपमा डेंगु संक्रमित विरामीहरु देखिन थालेको उनले बताए । ‘अहिले जति पनि नयाँ विरामीहरु छन्, त्यसमा मेरो वडाको अत्यधिक छ । हरेक जसो घरमा डेंगुका विरामी छन्,’उनले भने,‘हामी जनप्रतिनिधिहरु ज्यादै चिन्तित छौं ।’

कार्यवाहक प्रमुख भण्डारीले डेंगु नियन्त्रणको लागि सबै प्रयास गरेपनि सम्भव नभएको भन्दै प्रदेश र केन्द्र सरकारले बिशेष टोली परिचालन गर्न पनि आग्रह गरिन् । ‘हामीले जति सक्ने थियौं सबै प्रयास र पहल गर्यौं । टोल टोलमा जनपरिचालन पनि गरेर जमेका पानी पोखाउने र लार्भा नष्ट गर्ने काम पनि गर्यौं,’उनले भनिन्,‘तर स्थानीयतहसँग पुर्ण क्षमता छैन, त्यसैले डेंगु न्युनिकरण र नियन्त्रण गर्न प्रदेश, केन्द्र सरकारले बिशेष टोली नै परिचालन गर्न अपिल पनि गर्दछुँ ।’

तपाईको प्रतिक्रिया