काठमाडौं। आम सर्वसाधारणलाई मात्र होइन पर्दामा देखिने कलाकारलाई पनि दशैंको रौनकले राम्रै छोपेको छ । राजधानीभन्दा बाहिर घर हुने कलाकारहरु दशैंको टिका थाप्न जन्मथलो फर्किरहेका छन् । कोही भने राजधानीमै दशैं मनाउँदैछन् । यतिबेला प्रायः कलाकारहरु किनमेलमा व्यस्त छन् । अभिनेता राजेश हमाललाई भने दशैंको छेकोमा कामको चटारो छ । एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।

फूलपातीपछि भने हमाल परिवारसँग समय विताउने सोचमा छन् । १६ वर्ष अगाडि विजयादशमीको दिन आमाको निधन भएका कारण एकादशीको दिन मात्र टीका लगाउने उनी यसपालीको दशैं धनकुटामा मनाउने योजनामा थिए । किनकि, उनी त्यहाँ एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । तर, पूर्वतिर निरन्तर परेको पानीका कारण कार्यक्रम स्थगित भएपछि यसपटकको दशैं पनि राजधानीमा हुने उनले बताए ।

मंगलबार एक कार्यक्रममा उनले आफ्नो दशैंको योजनाबारे भने– ‘अन्तिम समयमा आएर दशैं योजना परिवर्र्तन भएको छ । फूलपातीमा धनकुटामा कार्यक्रममा सहभागी हुने र उतै दशैं मनाउने योजनामा थिएँ । तर, अन्तिम समयमा पानीका कारण कार्यक्रम स्थागित भएपछि यसपालीको दशैं काठमाडौंमै हुने भएको छ । दशैंको बेला काठमाडौं शान्त हुन्छ । झन् त्यसको आनन्द उठाउन पाइन्छ ।’ उनले विवाहपछि अहिलेसम्म दशैँमा ससुराली नगएको पनि बताए ।

तपाईको प्रतिक्रिया