मोरङको अलगअलग स्थानमा अटो टेम्पो र साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लेटाङ नगरपालिका–३ स्थित भित्री सडकखण्डमा को २ ह ३२०८ नम्बरको अटो आफैं अनियन्त्रित भएर शुक्रबार बिहानका राति २ बजेतिर दुर्घटना भएको छ। दुर्घटनामा अटो चालकको मृत्यु भएको छ। अटोमा सवार अर्का व्यक्ति घाइते भएका छन्।

लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका–७ का ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए। उनका अनुसार दुर्घटना परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा लेटाङ एड्भान्स हेल्थ केयर सेन्टरमा २:४० बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा परेर अटोमा सवार कानेपोखरी–७ का ३१ वर्षीय पूर्णबहादुर तामाङ घाइते भएका छन्। गम्भीर अवस्थाका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ। अटोको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, केराबारी गाउँपालिका–७ मा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। केराबारी–७ का १७ वर्षीय निर्मल महतोले आफ्नै घरअगाडि कुदाउँदै गर्दा अनियन्त्रित भएर बिहीबार दिउँसो साइकल लडेको थियो। प्रहरीका अनुसार अनियन्त्रित भएर लडेको साइकलको हेण्डिलले महतोको पेटमा लागेको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा राति ११ः३० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया