सुनसरीको इटहरी उपमहानगरपालिका १९ भवानीपुरका २९ वर्षीय राजु भारतीको दुबईमा ज्यान गुमेको छ ।
घर खर्च चलाउन र कमाइ गर्नका लागि विदेश गएका भारतीले उतै ज्यान गुमाउनुपर्दा इटहरी १९ का स्थानीयबासी भावविह्ल बनेका छन् ।डेढ महिनाअघि मात्रै विवाह गरेर विदेश गएका उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही पैसा कमाउने, बचत गर्ने र घर खर्च चलाउने सपना बोकेर विदेशिएका उनको उतै मृत्यु भएपछि परिवार, आफन्तजनसँगै स्थानीयबासीसमेत शोकमा परेका छन् । भारतीको शव शनिबार घरमा ल्याएर आइतबार इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको छ ।
‘वैशाख ६ गते (अप्रिल १८ तारिक) मा मृत्यु भएको रहेछ । त्यसको चार दिनपछि मात्रै परिवारलाई थाहा भयो,’ राजुका छिमेकी सन्तोष पौडेलले भने, ‘हामीलाई थाहा भएको चार दिनमै शव नेपाल ल्याइयो । दुबईमै रहेका दिवश चापागाईँको सहायताबाट शव ल्याएका हौँ ।’ परिवारलाई थाहा भएको चार दिनमै शव नेपाल ल्याइएको र आइतबार अन्त्यष्टि गरिएको पौडेलले बताए । उनका अनुसार चापाईँले अहिले ‘समर्पण राष्ट्रको लागि’ भन्ने अभियान नै चलाएर विदेशमा रहेका नेपालीहरूलाई उद्धार गर्ने तथा निधन भएकाहरूलाई पनि चाँडै शव नेपाल पठाउनका निम्ति काम गरिरहेका छन् ।
भारतीको हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि निधन भएको पत्र प्राप्त भएको पौडेलले बताए । मृतक भारती करिब पाँच वर्षअघि दुबई गएका थिए भने केही महिनाअघि मात्रै कम्पनी परिवर्तन गरी काम गर्दै आएका थिए ।
केही समयअघि मात्रै नेपाल आएका उनको डेढ महिनाअघि काठमाडौँ घर भएकी सुमित्रा खत्रीसँग विवाह भएको थियो । विवाह गरेर करिब एक महिनाअघि मात्रै विदेश गएका उनको उतै निधन हुँदा आफूहरू भावविह्ल भएको पौडेलले सुनाए ।‘

तपाईको प्रतिक्रिया