कुर्कुच्चा फुट्ने समस्याले धेरैलाई सताउने गर्छ । यसले खुट्टालाई नराम्रो देखाउनुका साथै पीडा पनि दिइरहेको हुन्छ । कुर्कुच्चा फुट्दा भद्दा देखिने हुँदा खुल्ला चप्पल लगाउनसमेत लाज लाग्ने हुन्छ ।

यो समस्या शरीरमा क्याल्सियमको कमीले हुने गर्दछ । क्याल्सियमको कमीले गर्दा दाँत र हड्डी कम्जोर हुँदै खुट्टाका पैताला तथा कुर्कुच्चा फुट्न सुरु हुन्छ । कुर्कुच्चा फुट्ने समस्याले पीडाका साथै विभिन्न संक्रमण निम्त्याउन सक्छ । कुर्कुच्चा फुट्दा मासु खुल्लासमेत हुने भएको कारणले त्यस ठाउँबाट छिट्टै ब्याक्टेरियाले संक्रमण गर्न सक्ने सम्भावना हुन्छ ।

यस समस्याले गर्दा खुट्टामा सेलुलाइटिस जस्ता डरलाग्दो रोग पनि लग्न सक्छ । संक्रमणबाट बच्न र कुर्कुच्चा फुट्न नदिन बजारमा अनेकौँ औषधिहरू सजिलै पाइने गर्छ । डाक्टरको सल्लाह लिएर मात्र त्यस्तो औषधिको प्रयोग गर्नु पर्ने हुन्छ । तर, कोहिलाई भने औषधिले समेत काम गर्दैन । त्यसो हुँदा केही घरेलु उपाय अपनाएर पनि यसलाई निको पार्न सकिन्छ ।

मनतातो पानीमा अलिकति श्याम्पू राखेर खुट्टालाई एकछिन भिजाएर राम्रोसँग धोएर तौलियाले सफा गरि पुछ्नु पर्छ । एउटा सानो भाँडामा गुलाबजल, कागतीको रस र गिल्सरिनको मिश्रण बनाएर राख्नु पर्छ । राम्ररी सफा गरिसकेपछि उक्त मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा मज्जाले लगाएर मोजा लगाएर सुत्नु पर्छ । भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्नु पर्छ । यस प्रक्रिया दैनिक निरन्तरता दिएर गरिरहँदा कुर्कुच्चा फुट्ने समस्याको समाधान छिट्टै हुन्छ ।

खाली खुट्टा हिँड्ने गर्दा छिट्टै पैताला तथा कुर्कुच्चा सुक्खा भएर फुट्न सक्नुका साथै अन्य संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले, कोठाबाट निस्किदा सधैँ चप्पल या जुत्ताको प्रयोग गर्नुपर्छ । पानी र माटोले खुट्टाको मासु खाने हुँदा पानी तथा माटोमा धेरै चल्नु हुँदैन । समस्याले बारम्बार सताइरहेको खण्डमा जहिले पनि मोजा लगाएर बस्दा केही हदसम्म कम हुन्छ । यो समस्याको समाधानको लागि गर्मीको मौसममा पनि पतुलो नपोल्ने खालको मोजाको अनिवार्य प्रयोग गर्नुपर्छ । साथै दैनिक क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नु पनि आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया