विराटनगर /विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेसीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ ।

 

औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले आज दिउँसो दिलावर खानले संचालन गरेको फार्मेसी सिलबन्दी गरेको हो ।

डिडिए विराटनगरका फार्मेसी अधिकृत अनिल परियारको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा जटिल किसिमको कैफियत भेटेपछि शिलबन्दी गरिएको बताएका छन् । क्यान्सरका विरामीले दुखार्इ कम गर्न प्रयोग गरिने ट्रामाडोल दिलावर फार्मेसीले खुल्लेआम विक्री वितरणको लागि राखिएको पाइएपछि शिलबन्दी गरिएको हो ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर विक्री वितरण हुने गरेको छ । तेही रोक्नको लागि डिडिएले ट्रामाडोल हस्पिटल भित्रको फार्मेसीले त्यो पनि प्रत्येक विरामीको रेकट राखेर मात्रै विक्री वितरण गरिनुपर्ने नियम लागू गरेको छ । कमाउ धन्दामा लागेका औषधी व्यवसायीहरुले ट्रामाडोलको चरम दुरुपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरुलाई पनि वितरण गरेको पाइएपछि हस्पिटल भित्रका फार्मेसी बाहेक बाहिरकोको औषधी पसलले विक्री वितरण गर्न नपाइने नियम लागू भएको हो । तर, डिडिएको नियमलाई खुल्ला रुपमा चुनौति दिदै दिलावर फार्मेसीले कुनै पनि रेकट बेगार ‘ड्रामाडोल’ इन्जेक्सन खुल्ला रुपमा विक्री वितरण गरेको पाइएपछि शिलबन्दी गरिएको हो । ‘अनुगमन गरेपछि ‘ड्रामाडोल’ इन्जेक्सन भेटिएपछि शिलबन्दी गरिएको हो । थप अनुसन्धानपछि औषधी ऐन अनुसार अब कारवाहीको प्रक्रिया अब अगाडी बढनेछ,’ उनले भने ।

दिलावरी फार्मेसीले केही महिना अगाडी मात्रै लादै नलगेको औषधी ‘प्रेस्किृप्सन’ मा देखाएर भारत ग्राम हरिपुर ६ का वर्ष ८० का शेख नइम विरामीलाई ठगी गरेका थिए । दिलावर फार्मेसीले एक फाइलको १ हजार ६५० रुपैयाँ पर्ने ‘सिस्ट्रा’ इन्जेक्सन चिकित्सकले प्रेस्किृप्सनमा नलेखिदिएपनि बिलमा चढाएर पैसा लिने गरेको प्रमाण भेटिएको थियो । उक्त फार्मेसीले २८ फागुन २०८० मा चिकित्सकले लेखेको प्रेस्किृप्सनमा उल्लेख नभएको २० फाइल सिस्ट्रा इन्जेक्सन नगदी विलमा इन्ट्रि गरेर ३३ हजार २४ रुपैयाँ ठगी गरेको पाइएको थियो । ठगी गरेको रकम पछि विरामीलाई फिर्ता गरेपछि आउँदा दिनमा गल्ती नगर्ने भन्दै फार्मेसीले प्रतिवद्धता जाहेर गरेपछि कारवाहीबाट जोगिएको थियो । अहिले फेरी औषधीको अनुचित प्रयोगको लागि ‘ड्रामाडोल’ इन्जेक्सन राखिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया