विराटनगर । विराटनगर–१० (साविक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा घुमाईफिराई माईस्थानकै नाममा हुने सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम हुने ठहर गरेको हो । यद्यपी फैसलाको पूर्ण पाठ भने आएको छैन ।
भानु मोरङ साँस्कृतिक समिति र संसारी माईस्थानबीच लामो समयदेखि जग्गामा विवाद रहँदै आएको हो । सर्वोच्चको पछिल्लो फैसलासँगै उक्त जग्गा संसारी माईस्थानकै रहेको ठहर भएको छ । विराटनगरको ऐतिहासिक धार्मिकस्थल संसारी माईस्थान र भानु मोरङ साँस्कृतिक समितिको एउटै प्राङ्गणको कित्ता नम्बर १७ को ८ कठ्ठा ९ धुर र कित्ता नम्बर १५ को २ कठ्ठा १० धुर जग्गामा दावी रहँदै आएको थियो ।
दुवै समूहको दावी अनुसार ऐतिहासिक धार्मिकस्थल संसारी माईस्थानको नाममा गोग्राहा प्रगन्ना पिचरा मौजाको रैती नम्बर १३८ को १३ कठ्ठा १५ धेर जग्गा बि.सं. १९७० साल भन्दा अगाडीदेखि कायम रहँदै आएको दावी मन्दिर समिति पक्षको छ । यहि जग्गा २०४३÷२०४४ सालमा नगर नापी क्याम्पसबाट कित्ता नम्बर १७ को ८ कठ्ठा ९ धुर, कित्ता नम्बर १५ को २ कठ्ठा १० धुर भानु मोरङ साँस्कृतिक समितिको नाममा नापी भएको थियो ।
नेपाली भाषा, कला, साहित्य सस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवर्धनका लागि २०१९ सालमा स्व.चर्तुभुज आशावादीले भानु मोरङ साँस्कृतिक समिति स्थापना गर्नु भएको थियो । यसलाई २०२८ सालमा विधिवत रुपमा दर्ता गरिएको देखिन्छ । स्व.चर्तुभुजका छोरा प्रचण्ड पौडेलका अनुसार विराटनगरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार जन्माएको संस्थाको स्वामित्वमा रहेको जग्गा मन्दिरको की समितिको भन्ने विषयमा बारम्बार अदालतमा मुद्दा पुगेको छ । यहि परिसरमा कथाकार देवकुमारी थापाले २०६० असार २९ गते चर्तुभुजको शालिक शिलन्यास गर्नु भएको थियो । यसलाई २०६१ साल २९ गते शम्भुजीत बाँस्कोटाले अनावरण गर्नु भएको थियो । चर्तुभुज जीवित हुँदासम्म जग्गामा विवाद थिएन । तर, २०५९ सालमा मृत्यु भएपछि जग्गामा विवाद सुरु भएको छोरा प्रचण्डको भनाई छ ।
पौडेलका अनुसार २०४२ सालमा नापी हुँदा संसारी माईस्थान मन्दिरलाई २ कठ्ठा जग्गा दिने मनसायमा बुबा चर्तुभुज हुनुहुन्थ्यो । तर, मन्दिरको तर्फबाट कोहि नआएपनि १० कठ्ठा जग्गा संस्थाले राखेको थियो । २०४७ सालमा तत्कालीन भानु साँस्कृतिक समितिका सचिव स्व.राजकुमार पोखरेलले संसारी माईस्थान तथा भानु मोरङ साँस्कृतिक समितिलाई मिलाएर भानु मोरङ साँस्कृतिक सेवा संघ बनाउनु भएपछि विवाद सुरु भएको उहाँको भनाई छ ।
त्यसपछि भानु मोरङ साँस्कृतिक समिति जीवित रहेको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । २०५१ सालमा सर्वोच्चले संस्था बिलयको यो निर्णयलाई बदर गरेर भानु मोरङ साँस्कृतिक समिति अलग रहेको ठहर गरिदिएको थियो । यसपछि २०५२ सालमा सबै जग्गा मन्दिरको नाममा रहेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा परेको थियो । अदालतले जग्गा भानुकै नाममा रहेको र मन्दिर संस्थाबाटै संरक्षित रहने फैसला गरिदिएपछि जग्गाको पुर्जा भानुको नाममा बनेको थियो ।
मन्दिरकोतर्फबाट मुद्दा हाल्ने पक्ष ३५ दिन भित्र पुरावेदनमा गएन । तर, संसारी माईस्थान मन्दिर संरक्षण समितिका नाममा २०६९ सालमा राजेश मास्केले जिल्ला अदालतमै पुनः सुरु मुद्दा दर्ता गर्नु भएको थियो । संसारी माइस्थानका तर्फबाट राजेशकुमार मास्केले मोरङ जिल्ला अदालतमा दायर गर्नु भएको मुद्दा २०६९ माघ २० गते फैसला हुँदा मन्दिरकै हुने ठहर भयो । उक्त फैसला विरुद्ध भानु मोरङ साँस्कृतिक समितिले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । उच्च अदालत विराटनगरले २०७१ साल मंसिर २९ गते संसारी माईस्थानकै पक्षमा फैसला सदर गरिदियो ।
त्यसपछि भने भानु मोरङ साँस्कृतिक समिति सर्वोच्चमा गयो । सर्वोच्चको फैसलाले समेत जिल्ला र उच्चको फैसला सदर गर्दै भानु मोरङ साँस्कृतिक समितिले निर्माण गरेको भौतिक संरचना समेत हटाउन भनेको छ । मुद्दा दायरकर्ता मास्केले संसारी माईस्थानलाई बिहारीलाल श्रेष्ठले उपलब्ध गराउनु भएको जग्गामा भानु मोरङ साँस्कृतिक समितिले सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्नो बनाएको दावी गर्नुभयो । उहाँले मुद्दा हालेर १२ वर्षपछि जग्गा मन्दिरकै नाममा फर्काउन सकेकोमा गर्व महसुश भएको बताउनुभयो ।
संसारी माईस्थानका विरुद्धमा भानु मोरङ साँस्कृतिक समितिले गरेको अपिलमाथि जिल्ला र उच्च अदालतको फैसला सर्वोच्च अदालत सदर गरिदिएपछि यसको विवाद समाप्त भएको मास्केले बताउनुभयो । यता भानु मोरङ साँस्कृतिक समितिका पौडेलले भने जीवनभर कला क्षेत्रमा लाग्नु भएका स्व.चर्तुभुज आशावादीप्रति अन्याय भएको गुनासो गर्नुभयो ।
विराटनगरमा संसारी माईस्थानकै जस्तो नगर नापी क्याप्पबाट काली मन्दिरको जग्गा समेत पुजारीले आफ्नो नाममा दर्ता गराएको भन्दै अदालतमा दायर मुद्दा मन्दिरको पक्षमा फैसला भएपछि जग्गा फिर्ता भएको थियो । आदर्श पुस्तकालयको जग्गा समेत रोटी क्लवले हडपेको भन्दै मुद्दा अदालतमा परेको थियो । यसमा भने अदालतले रोटरीको पक्षमा फैसला गरेको छ ।
कसरी खुल्यो सांस्कृतिक समिति ?
साविक विराटनगर–१३ हाल विराटनगर–१० मा अवस्थित भानु मोरङ सांस्कृतिक समिति र संसारी माईस्थानबीच लामो समयदेखि जग्गा विवाद चलिरहेको छ । यो विवादका कारण कला र संस्कृतिको बिजारोपण भएको स्थान नै उजाड पनि बनेको छ । कतिपय संरचना भत्काइएको छ । केही पुरानो भएर लथालिङ्ग छन् ।
समिति र मन्दिरको सिमानालाई पूर्व–पश्चिम सडकले छुट्याएको छ । यो विवाद कानुनी लडाइँमा पुगेर हाल सर्वोच्चबाट टुङ्ग्याइएको छ ।
नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवर्धन गर्ने मनसायले २०१९ सालमा कला अनुरागी चर्तुभुज आशावादीले भानु मोरङ सांस्कृतिक समिति स्थापना गरेका थिए । २०२८ सालमा संस्था दर्ता भयो । त्यसयता विराटनगरमा यो केन्द्रबाट धेरै नाम कहलिएका कलाकारको ‘करिअर’ बनाउन कोषेढुंगा सावित भयो ।
चर्तुभुज जीवित छैनन्, तर कथाकार देवकुमारी थापाले २०६० असार २९ गते शिलान्यास गरी संगीतकार शम्भुजित बास्कोटाले २०६१ असार २९ मा अनावरण गरेको उनको शालिक भानुकला केन्द्रको परिसरमा छ । उनको निधन २०५९ सालमा भएको थियो । अग्रजहरूको साथ र सहयोग लिएर भानु मोरङ सांस्कृतिक समितिको भगिनी संस्थाका रूपमा २०३७ सालमा भानु कला केन्द्र स्थापना गरिएको थियो । त्यसबेला अन्तर्राष्ट्रिय कलाकार र साहित्यकारको सम्मेलन भएको थियो ।
“भारतीय राष्ट्रपति पुरस्कार विजेता दमयन्ती जोशी, लभु महाराज, जल तरंग वाथक, केएल सुदलगायत कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार विराटनगर आएका थिए । विगतमा आशावादीकै अगुवाइ सांस्कृतिक समतिबाटै संसासी माईस्थानका लागि केही जग्गा दिइएको थियो । पहिले ढुंगाको थात थियो । पछि–पछि मन्दिरको स्वरूप दिइयो । वरपर भीमसेनसहित अन्य मन्दिर बनाइयो । भिसमेन मन्दिर प्रजातान्त्रिक योद्धा तोरेन्द्रमानसिंह प्रधान र तत्कालीन मन्दिर समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
को हुन् आशावादी ?
आशावादीको जन्म २००१ मंसिर १ गते भएको हो । उनको मृत्यु २०५९ साल साउन ४ गते भयो । आशावादी उनको उपनाम हो । यही नामले प्रख्यात छन् । आशावादी नयाँ कलाकार खोज्ने र उनीहरूलाई प्रशिक्षित गराउन सक्रिय थिए । जीवनभर प्रतिभाको खोजी गरे । उनले तत्कालीन समयमा अन्तर्राष्ट्रिय मैथिली नाटक सम्मेलन सात पटकसम्म गरेका थिए । कवि धीरेन्द्र प्रेमर्षिले आफ्नो एउटा आलेखमा समेत यो विषयलाई उल्लेख गरेका छन् ।
२०२३ सालमा सोभियत रूसमा भएको एउटा कार्यक्रममा मोटो शरीर भएका आशावादी घण्टौ नाचेको देखेर मञ्चबाट सोझै अस्पताल लगेर परीक्षण गरिएको भनाई पनि कवि प्रेमर्षिले उल्लेख गरेका छन् । आशावादीका हजुरबुबा सितारवादक थिए । पछि रूसी चिकित्सकहरूले आशावादीमा वंशानुगत गुणकै कारण लामो समय नाच्न सकेको भन्ने निश्कर्ष निकाले परिवारका सदस्यको दावी छ ।
चर्तुभुज आशावादीले संकलन गरेका नृत्यहरू पंचायतकालदेखि नै प्रमाण पत्र तह (आईए) को पाठ्यक्रममा समावेश छन् । नारायाण गोपाल, गोपाल योञ्जन, गितार नगेन्द्र थापा र चर्तुभुज आशावादीलाई नेपाली गीत संगीत तथा कलाको क्षेत्रमा एउटा रथको चारपांग्रा भन्ने गरिन्छ ।
शिव श्रेष्ठ, मिना श्रेष्ठ, नविन श्रेष्ठ, दिपाश्री निरौला, मनोहरि थापा र अन्य धेरै कलाकार भानु मोरङ सांस्कृतिक समितिका प्रशिक्षितहरू हुन् ।