काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा मङ्सिर दोस्रो साता चीन भ्रमणमा जाने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेकी हुन् ।

प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदैछन्। परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनको चीन भ्रमण हुन लागेको जनाइएको छ ।

परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार यही नोभेम्बरको अन्तिम साता उनले चीन भ्रमण गर्ने गरी तयारी सुरु भएको छ । औपचारिक मिति भने तय भइनसकेको पाठकले बताए। चीन भ्रमणको तयारी अनुसारै केही दिनअघि मात्र उनले नेपालका लागि चीनका राजदूत छन् सोङसँग छलफल गरेकी छन् ।

तपाईको प्रतिक्रिया