राष्ट्रियसभा सदस्यले दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकासिएको भन्दै बजार मूल्य नियन्त्रणबारे सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले फलफूल तथा तरकारी लगायत खाद्यान्न तथा मासुमा अस्वभाविक मूल्य बढेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले तरकारीको मूल्य आकासिँदै गएको भन्दै बजार मूल्यबारे सदनमा छलफल गरिनुपर्ने बताए।

‘तीन दिन अघि एउटा पाहुना बोलाथें घरमा खानालाई तरकारी ल्याउने जिम्मा मलाई परेको थियो। बानेश्वर चोकमा साग किन्न लागेको फर्सीको मुन्टा ५० भन्यो मैले समातेको फर्सी पनि फुत्त तल राखे अहिले एकछिन पछि ६० पनि हुन बेर लाग्दैन भनेपछि त्यो पनि लिए। घरमा आएर पनि गाली खाए। के लेराएको पकाउँदा इत्ति पनि हुँदैन,’ बैठकमा त्यो दिनको अनुभव सुनाउँदै उनले भने,‘ अहिले तरकारीको भाउ आकासिएको छ।’

उनले खाद्यान्नलगायत मासूको मूल्य पनि आकासिँदै गएकाले बजार मूल्यको तुलनात्मक अध्ययन गर्न सरकारलाई आग्रह गरे।

‘मान्छेको ढाडनै सेकिसक्यो। मान्छेले किनेर खानै नसक्ने भइसके’, उनले भने,‘ त्यो स्थितिमा सरकारको ध्यान यसमा गएको छैन।’

उनले सर्वसाधारणको मूलभूत आवश्यकता र अत्यधिक खर्च हुने तरकारी तथा खाद्यान्न सर्वसुलभ उपलब्ध गराउनेतर्फ राज्यले गरेको तयारीबारे सदनलाई जानकारी गराउन सरकार र सम्बन्धी निकायको ध्यानाकर्षण गराए। उनले हरेक क्षेत्रको नीतिगत र व्यवस्थापकीय दुवै तहमा सरकार चुकेको आरोप लगाए।

तपाईको प्रतिक्रिया