मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम बुढीगंगा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी चैत २१ देखि २७ गतेसम्म बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आफ्नै पहलमा फुटबल टिम तयार पार्दै गोल्डकप आयोजना गर्न लागेको हो। पछिल्लो एक वर्षदेखि गाउँपालिकाले फुटबल, भलिवल, कबड्डी र डोरीतान लगायतका खेलका खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको छ। हाल ३२ सदस्यीय फुटबल टिम व्यावसायिक रूपमा खेल्न थालेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो।

प्रतियोगितामा आयोजक बुढीगंगा गाउँपालिका सहित सलहेस फुटबल क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, धरान फुटबल क्लब सुनसरी, चाल्सा फुटबल क्लब झापा, आरएफसी काठमाडौं, नाइजेरियन फुटबल क्लब तथा कञ्चनजंघा फुटबल क्लब सिलगुडी (भारत)को सहभागिता रहनेछ। उद्घाटन खेल आरएफसी काठमाडौं र सलहेस सिरहाबीच हुने कार्यक्रम संयोजक तथा वडा नं. २ का अध्यक्ष रेवतीनारायण चौधरीले जानकारी दिनुभयो।

प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा गाउँपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष अमृताकुमारी गच्छदारले बताउनुभयो। बाँकी रकमका लागि विभिन्न संघसंस्था, उद्योगी व्यवसायी तथा छिमेकी स्थानीय तहसँग सहयोगको आग्रह गरिएको छ।

गाउँपालिका अध्यक्ष वितनारायण थापा मगरले गोल्डकपले स्थानीय खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।
“हामीले खेलकुदलाई केवल प्रतिस्पर्धा मात्र होइन, युवाको भविष्य निर्माण गर्ने माध्यमका रूपमा लिएका छौं,” उहाँले भन्नुभयो।

उहाँका अनुसार गाउँपालिकाले खेलाडी उत्पादनलाई दीर्घकालीन योजना अन्तर्गत अघि बढाएको छ।
“बुढीगंगाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो,” थापा मगरले उल्लेख गर्नुभयो।

उहाँले स्थानीय तहबाटै खेलकुद पूर्वाधार र अवसर विस्तार गर्नु आवश्यक रहेको बताउँदै भन्नुभयो,
“स्थानीय सरकारले चाहेमा गाउँमै बसेर पनि ठूला सपना देख्न सकिन्छ भन्ने उदाहरण हामी प्रस्तुत गर्न चाहन्छौं।”

तपाईको प्रतिक्रिया